इरानद्वारा हिरासतमा रहेको बेलायती जहाज मुक्त गरेको घोषणा


तेहरान, (एजेन्सी)।इरानले सोमबार बेलायती झन्डा फहराइएको ट्यांकर अब स्वतन्त्र रहेको जनाएको छ। दुई महिनाभन्दा अगाडि उक्त ट्यांकरलाई इरानले नियन्त्रणमा लिएको थियो।

इरान सरकारका प्रवक्ता अली रबिबीले सोमबार पत्रकार सम्मेलनमा भने– ‘कानुनी प्रक्रिया पूरा भइसकेको छ र त्यसको आधारमा तेल ट्यांकर मुक्त गर्ने सर्त पूरा भएको छ र तेल ट्यांकर अब जान सक्छ।’

तर उनले स्विडिस स्वामित्वमा रहेको उक्त जहाज कहिले छोडिनेछ भन्ने विषयमा स्पष्ट पारेको छैन। इस्लामिक रिभोलुसनरी गार्ड कोरले होर्मुजको खाडीमा जुलाई १९ मा स्टेना इम्पेरियोलाई नियन्त्रणमा लिएको थियो।

उक्त ट्यांकरको मालिक कम्पनी स्टेना बकका प्रमुख कार्यकारी एरिक हनेलले स्विडिस टेलिभिजन च्यानल एसभिटीलाई भने– ‘जहाज मुक्त गर्ने राजनीतिक निर्णय भएको भन्ने हामीले बुझेका छौं।’

उनले भने– ‘केही घण्टामा त्यहाँबाट प्रस्थान हुन पाउनेछ भन्ने हामीले आशा गरेका छौं। तर हामी कुनै कुरा भइहाल्यो भन्ने पक्षमा लिन चाहँदैनौं।

हामी जहाज इरानी समुद्री सीमाबाट अगाडि बढे भने मात्र सुनिश्चित गर्न चाहन्छौं।’ जिब्राल्टरमा नियन्त्रणमा लिइएको एक इरानी तेल ट्यांकरलाई एक बेलायती अदालतले हिरासतमा राख्ने अवधि बढाएपछि इरानले उक्त जहाजलाई नियन्त्रण लिएको थियो।