राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीको संयुक्त सम्बोधन


वासिङ्टन, (एजेन्सी)।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकाको टेक्सासको एनआरजी स्टेडियममा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन्।

कुनै पनि विदेशी नेताका लागि बिरलै आयोजना हुने यस प्रकारको बृहत्र्यालीमा ट्रम्प र मोदी दुवैले एकले अर्कालाई प्रशंसा गर्दै न्यानो मित्रता झल्काउने शब्दहरू प्रयोग गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

यस कार्यक्रममा भारतीय मूलका दशौं हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसोबास गरिरहेका भारतीय नागरिकको सहभागिता रहेको थियो। मोदी र ट्रम्पसामु सो करिब ९० मिनेट लामो कार्यक्रममा चार सय जना कलाकारले कला तथा संगीत प्रस्तुत गरेका थिए।

यो कार्यक्रम टेक्सास राज्यको ह्युन्स्टनमा आयोजना गरिएको होे। त्यस कार्यक्रमका आयाजकले ट्रम्प र मोदीलाई भव्य स्वागत गरेका बताइएको छ। सञ्चारमाधयमले उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेको दाबी गरेको छ।

प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई थुप्रै पटक भेट गरेको र उनीमा आफूले सधैं आत्मीयता पाएको टिप्पणी गरेका थिए।
त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणासमेत राखेका थिए।

त्यसपछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा सानदार विजय हासिल गरी भारतको प्रधानमन्त्रीमा नियुक्त भएकोमा मोदीलाई बधाई दिएका थिए।

साथै ट्रम्पले प्रधानमन्त्री मोदीको प्रशंसा गर्ने क्रममा उनले मोदीका कारण भारतलाई गरिबी मुक्त क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताएका छन्। तर जेहोस् संयुक्त राष्ट्र संघको महासभामा भने मोदीले चिसो स्वागतको सामना गुर्नपर्ने अनुमान अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले गरेका छन्।

सो महासभामा मोदीको भारत अधीनस्थ काश्मिरको तनावलाई लिएर आलोचना हुनसक्ने बताइएको छ। गत महिना मात्र मोदीले काश्मिरलाई पुरानै प्रतिष्ठामा फर्काउने बताउँदै त्यसको विद्यमान विशेष दर्जा खोसेका थिए। आफ्नो एक साता लामो अमेरिकाको यस भ्रमणको क्रममा मोदीको उद्देश्य व्यापार वार्ता र सो महासभामा सहभागिता जनाउनु रहेको छ।