अमेरिका–तालिवान वार्तालाई चीनको समर्थन


बेइजिङ, (एजेन्सी)।अफगानिस्तानको इस्लामिक कट्टरपन्थी समूह तालिवानका नेताहरूसँग चिनियाँ अधिकारीहरूसँगको भेटवार्तापछि चीनले सोमबार अमेरिका र तालिवानबीच वार्ताको समर्थन गरेको छ।

दुई हप्ताअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवान समूहसँगको प्रस्तावित सम्झौतालाई लिएर वार्ता रद्द गरेका थिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआङले भने– ‘अमेरिका र अफगानिस्तान तालिवान वार्ताको गति कायम रहनेमा चीनले अपेक्षा गरेको छ।’

‘राष्ट्रिय समाधान, शान्ति र स्थिरता प्राप्त गर्नका लागि अफगान सरकार र तालिवानबीचको आन्तरिक वार्ता तथा संवादको चीन समर्थन गर्दछ।’ –गेंगले बताए।

तालिवानले एक ट्विटमा चीनका अधिकारीहरूले प्रस्तावित अमेरिका–तालिवानबीच सम्झौताको समर्थन गरेको उल्लेख गरेको छ। काबुलमा भएको बम विस्फोटको घटनामा एक अमेरिकी

सैनिक मारिएपछि अमेरिकी राष्ट्रपतिले यसै महिनाको शुरुआतमा तालिवानसँगको अन्तिम चरणमा पुगिसकेको वार्ता रद्द गरेका थिए।तालिवानका प्रमुख वार्ताकारले त्यतिबेलादेखि वार्ता पुनः शुरू गर्न समूहको ढोका खुला रहेको बताउँदै आइरहेका छन्।

कतारस्थित तालिवानका राजनीतिक कार्यालयका प्रवक्ता सुहेल साहिनले ट्विट गरी संगठनका राजनीतिक नेता मुल्ला अब्दुल गनी बारादरको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चीनका विशेष दूत दंग सिजुनसँग बेइजिङमा भेटवार्ता गरेको हो।

दुवै पक्षले अमेरिका तालिवान वार्ता र सम्झौतामा चर्चा गरेको साहिनले बताए। चिनियाँ विशेष दूतले अफगानिस्तान मुद्दाको समाधानका लागि अमेरिका तालिवान सम्झौता एक राम्रो पहल भएको र यसमा उसको समर्थन रहेको बताए।