नयाँ पत्रकार आचार संहिता जारी


काठमाडौं, (नेस)।पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) सोमबारबाट जारी भएको छ। प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरूपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो।

सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरुप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जबाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारसँग चरण चरणको छलफल, अन्तरक्रिया र प्राप्त राय सुझाबलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानुन नरम बन्नसक्ने तर्क राख्नुभयो।

उहाँले यो आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुँदा त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। साथै उहाँले पत्रकार महासंघको सहमतिमा बनेको यो आचारसंहिता कार्यान्वयनका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।

सो अवसरमा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तीव्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताउनुभयो।

उहाँले पत्रकारकै कमीकमजोरीका कारण धेरै प्रकारका कानुन बनेको बताउँदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी काउन्सिलका सदस्य गोपाल बुढाथोकीले विभिन्न चरणमा

छलफलपश्चात् सहमतिमा पुगेर तयार पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्ने कोशेढुंगा सावित हुने बताउनुभयो।

त्यसैगरी पत्रकार महासंघका सचिव एवम् आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चार माध्यमको विकाससँगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको र पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सधै सत्य तथ्य सूचना प्रबाह गर्न आचारसंहिता कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो।