भ्रष्टाचारीलाई गाेली ठाेक्न राष्ट्रपतिकाे आग्रह


जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले आग्रह गरेका छन् । सार्वजनिक कार्यक्रममा बाेल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोलि ठोक्न समेत आग्रह गरेका छन् । भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुस मागे तत्काल थप्पड हान्न पनि उनले जनतालाई आग्रह गरे ।

विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटरटेमाथि देशमा लागू औषध तस्कर तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको हत्या गरेको आरोप छ । पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने तथा राष्ट्रवादी नेताको छविले भने देशका जनतामाझ उनी निकै लोकप्रिय छन् । त्यस्तै कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा भारतले गरेको एउटा अनुरोधलाई पाकिस्तानले अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो । पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताए ।

भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी जाँदैछन् । मोदी सवार विमानका लागि भारतले पाकिस्तानसँग हवाई मार्ग उपलब्ध गराउन अनुरोध गरेको हो । पछिल्लो समय पाकिस्तानले भारतबाट उडान भर्ने विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ । कश्मीरको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मोदीको उडानका लागि हवाई मार्ग उपलब्ध गराउन नसकिने जवाफ भारतीय उच्चायोगलाई दिएको पाकिस्तानी विदेशमन्त्रीको भनाइ छ । पाकिस्तानले हवाई मार्ग उपलब्ध नगराउँदा भारतबाट हुने अन्तर्राष्ट्रिय उडान पाकिस्तानी वायुक्षेत्र भन्दा बाहिरबाट उड्नुपर्ने बाध्यता हुन्छ ।

पाकिस्तानी हवाई क्षेत्र भन्दा बाहिरबाट उड्दा विमानको उडान समय र लागत खर्च बढी हुने गरेको छ । यस्तै उता दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हानले कपाल खौरेर सरकारको विरोध गरेका छन् । ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका हुन्। परिवारका सदस्य भ्रष्टाचारका मुद्दामा मुछिएका कारण विवादमा तानिएका न्यायिक मामिला हेर्ने मन्त्री चो कुकको नियुक्तिको विरोधमा यस्तो शैली अपनाइएको हो । विरोधस्वरूप गत हप्ता दुईजना महिला सांसदले कपाल खौरिएका थिए। तीनै जना राष्ट्रपति मुन जे-इन ले नेतृत्व गरेको सरकारको विरुद्धमा छन्। उनीहरू चोले राजीनामा गरुन् वा उनलाई पदबाट बर्खास्त गरियोस् भन्ने चाहन्छन्। गतहप्ता मात्र न्यायिक मामिला हेर्ने मन्त्रीका रूपमा पदभार ग्रहण गरेका चो कानुन विषयका पूर्व प्राध्यापक हुनुका साथै राष्ट्रपतिका सल्लाहकार हुन्।

तर उनको परिवारमाथि प्राज्ञिक विषयमा ठगीका साथै आर्थिक अपराधको आरोप लागेको छ। उनकी श्रीमतीमाथि विश्वविद्यालयमा फट्याइँ गरेको आरोप छ। त्यसले उनकी छोरीलाई छात्रवृत्ति प्राप्त गर्न सहयोग पुगेको भन्ने गरिएको छ। चोकि पत्नी पनि प्राध्यापक हुन। अभियोजनकर्ताहरुले उनका नातेदारसँग जोडिएको एउटा शङ्कास्पद कोषमा गरिएको लगानीबारे पनि छानबिन गरिरहेका छन्। पछिल्ला हप्ताहरूमा चोको परिवारसँग जोडिएका थुप्रै स्थानहरूमा छापा मारिएको छ। आफ्नी छोरीले लाभ पाएको भन्ने विषयमा पदभार ग्रहण गर्नु अघिको सुनुवाइका क्रममा उनले युवा पुस्तासँग माफी मागेका थिए।

उनले आफूले न्यायिक प्रणालीमा सुधार गर्न चाहेको बताएका थिए। चोले आफू माथि लागेका आरोपको पुष्टि नभएको र आरोपकै आधारमा कसैको नियुक्ति नगरिनुले गलत नजिर बसाल्ने बताउँदै आएका छन्। दक्षिण कोरियामा विरोधस्वरूप कपाल खौरने चलन नयाँ होइन। यो लामो समयदेखि चलेको परम्परा हो। उक्त क्रियाकलाप परम्परागत कन्फ्युशियस शिक्षामा आधारित छ। ऐतिहासिक रूपमा उक्त क्रियाकलापलाई कुनै पनि कुरामा प्रतिबद्धता प्रदर्शन गर्ने तरिकाका रूपमा हेरिन्छ। सन् १९६० देखि १९७० मा दक्षिण कोरिया प्रत्यक्ष सैन्य शासन थियो। त्यति बेला असन्तुष्टि व्यक्त गर्न कपाल खौरिने गरिन्थ्यो। पछिल्ला दशकमा राजनीतिज्ञ र अभियानकर्ता उक्त शैली प्रयोगमा ल्याएका छन्।

शौचालय र कपडा लगाउनका लागि बनाइएका कोठामा गोप्य क्यामेरा राख्ने र महिलाहरूको भिडियो कैद गरिने कार्यको विरोध गर्दै सन् २०१८ मा गरिएका प्रदर्शनका क्रममा महिलाहरूले आफ्नो कपाल खौरिएका थिए। अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको विरोधस्वरूप दुई वर्ष अघि नौ सयभन्दा बढी कोरियाली नागरिकहरूले कपाल खौरिएका थिए। सन् २००७ मा पनि नयाँ औद्योगिक क्षेत्र कहाँ बनाउने भन्ने विषयमा विवाद उत्पन्न भए पछि इचनका सयौँ बासिन्दाहरूले कपाल खौरिएका थिए। राष्ट्रपति भवन अघि कपाल खौरिएका ह्वाङले चोलाई ‘अपराधी’को संज्ञा दिँदै राजीनामा माग गरेका थिए।

एजेन्सी