नेपाल समाचारपत्र, रामेछाप।रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षति भएका विद्यालयको पुनर्निर्माण कार्य तिब्र रूपमा अगाडि बढेको छ।विनाशकारी भूकम्पमा परी जिल्लामा ३ सय ९४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको थियो।
अहिले १ सय ९ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरेले बताउनुभयो। २ सय २३ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको र ३५ वटा विद्यालय निर्माण शुरू हुन बाँकी रहेको प्रमुख घिमिरेको भनाइ रहेको छ।
घिमिरेले भन्नुभयो–‘विभिन्न कारणले शुरूमा ढिलो भए पनि अहिले समयसीमाभित्रै निर्माणको काम सक्ने गरी विद्यालय पुनर्निर्माणमा लागिरहेका छौं, त्यसका लागि निर्माणको जिम्मा लिएका कम्पनी, विद्यालय व्यवस्थापन समिति र गैरसरकारी संघसंस्थाहरुले गरेको कामको गुणस्तर कायम गर्न अनुगमन, सुपरिवेक्षण र निर्माण सम्पन्न विद्यालयहरु समुदायमा हस्तान्तरण गर्नेजस्ता कामहरु गरिरहेका छौं।’
प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले शर्मा–खानी जेभी काठमाडौंले दोस्रो चरणमा निर्माण गरिरहेको विद्यालयको अनुगमन गर्दै निर्माण कार्यको गुणस्तर कायम राख्दै चाँडोभन्दा चाँडो विद्यालय निर्माणको काम सक्न निर्देशन दिनुभएको छ।
त्यसैगरी विद्यालय निर्माणस्थलमै पुग्नुभएका नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ र नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले भवन नभएकै कारण जिल्लामा विद्यार्थीहरुको पठनपाठनमा पुगेको समस्यालाई मध्यनजर गर्दै पुनर्निर्माणको काममा कुनै पनि ढिलाइ नगर्न आग्रह गर्नुभएको छ।
उता पहिलो चरणमा १९ वटा विद्यालय निर्माण सम्पन्न गरी दोस्रो चरणमा १२ ओटा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको शर्मा–खानी जेभी काठमाडौंका प्रतिनिधि रामबाबु घिमिरेले कम्पनीले जिम्मा लिएका सबै काम समय सिमाभित्रै सम्पन्न गर्ने दाबी गर्नुभएको छ।












प्रतिक्रिया