मोदीलाई पुरस्कार दिने गेट्स फाउन्डेसनको घोषणाको व्यापक आलोचना

‘भारत खतरनाक र घातक अव्यवस्थातर्फ बढिरहेको छ’


वासिङ्टन, (एजेन्सी)।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘ग्लोबल गोलकिपर अवार्ड’ बाट सम्मान गर्ने बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको घोषणापछि त्यसको व्यापक विरोध भइरहेको छ।

यस घोषणालाई लिएर चर्चित वकिल, मानवअधिकार कार्यकर्ता तथा समाजसेवकले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको कडा आलोचना गरेका छन्।

फाउन्डेसनले सेप्टेम्बर २४ मा चौथो वार्षिक गोलकिपर्स ग्लोबल गोल्स अवार्डका क्रममा प्रधानमन्त्री मोदीलाई सम्मानित गर्ने बताइएको छ।

यो पुरस्कार प्रधानमन्त्री मोदीलाई उनको नेतृत्वको कार्यक्रम स्वच्छ भारत अभियानका लागि प्रदान गर्न लागिएको हो।

यस कार्यक्रमको माध्यमबाट देशभरि लाखौं शौचालयको निर्माण गरिएको सरकारले दाबी गरेको छ र स्वच्छताप्रति जनतामा व्यापक जागरुकता आएको छ।

तर मोदीलाई पुरस्कार दिने घोषणापछि गेट्स फाउन्डेसनको आलोचना भइरहेको छ। सन् १९७६ नोबेल शान्ति पुरस्कार विजेता मेरिड मेग्वेइरले गेट्स फाउन्डेसनलाई लेखेको आफ्नो पत्रमा भनेका छन्– ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले यसै महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पुरस्कारबाट विभूषित गर्ने कुराले हामी आश्चर्य चकित भएका छौं।

नरेन्द्र मोदीको शासनमा भारत खतरनाक तथा घातक अव्यवस्थातर्फ बढिरहेको छ, जसका कारण त्यहाँको मानवअधिकार तथा लोकतन्त्र लगातार कमजोर भएको छ।

यसले हामीलाई विशेष चिन्तित बनाएको छ किनभने तपाईंको फाउन्डेसनको घोषित मिसन जीवनलाई संरक्षित गर्नु र असमानतासँग लड्नु हो।’

उक्त पत्रमा उनले भारतमा अल्पसंख्यक (विशेष गरी मुसलमान, इसाई र दलित) माथि हमलामा बृद्धि भएको, असम र काश्मिरमा मानवअधिकारको उल्लंघनका बारेमा उल्लेख गर्दै प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ।

मोदीलाई दिन लागेको यो पुरस्कार उनले विश्वभरिबाट पाएका अन्य पुरस्कार तथा सम्मानभन्दा सबैभन्दा नयाँ हो।
मंगलबार समाजिक सेवासँग आबद्ध दक्षिण एसियाली अमेरिकीहरुको एक समूहले गेट्स फाउन्डेसनलाई एक खुलापत्र लेखेका थिए।

उक्त पत्रमा कथित मानवअधिकार उल्लघंनको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुरस्कार दिने निर्णयको आलोचना गरिएको थियो।

पत्रमा लेखेको छ– ‘विगत एक महिनाभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मिरका ८० लाख जनतालाई नजरबन्दमा राखेका छन्।

बाहिर जगतबाट त्यहाँ सञ्चार सुविधा तथा समाचार संकलन बन्द छ। त्यहा बच्चाहरुसहित हजारौंलाई हिरासतमा लिइएका छन्।

भारतीय सुरक्षाकर्मीबाट स्थानीयलाई पिट्ने, यातना तथा एक सानो बच्चाको हत्या गरेको समेत समाचार आइरहेको उक्त पत्रमा लेखिएको थियो।