शिर मुण्डन गर्दै विधायकको विरोध


सोल, (एजेन्सी)। दक्षिण कोरियाको विपक्षी नेता सरकारको विरोध गर्ने उद्देश्यले सार्वजनिक रूपमा केश खौरिने पछिल्लो राजनीतिज्ञ बनेका छन्।

सोमबार साँझ राष्ट्रपति भवनबाहिर पत्रकार र समर्थकहरुका सामू नेता ह्वाङ क्योङ आह्नले आफ्नो शिर पूरै मुन्डन गराएका थिए।

नयाँ न्यायमन्त्री चो कुकको विरोधमा यो नयाँ शैलीको विरोध प्रदर्शन शुरू भएको हो। चोको परिवार भ्रष्टाचार अभियोगमा मुछिएको छ।

यही विवादलाई लिएर गत साता पनि दुईजना महिला विधायकले आफ्नो केश खौरिन लगाएका थिए। यी तिनैजना विधायक कन्जरभेटिभ पार्टीका हुन्।

तिनीहरुले चोले राजीनामा दिनुपर्ने वा उनलाई वर्खास्त गरिनुपर्ने माग गर्दै राष्ट्रपति मुन जाय इनको सरकारको विरोध गरेका हुन्।

कानुनका पूर्वप्राध्यापक तथा मूनका निकटतम् व्यक्ति चोलाई गत साता न्यायमन्त्रीमा नियुक्ति दिइएको हो। उनको परिवारविरुद्ध वित्तिय अपराध र शैक्षिक जालसाजीको आरोप लागेको छ।

पूर्वराष्ट्र पार्क गे ह्युनलाई पनि पदीय अधिकार दुरूपयोग र भ्रष्टाचार गरेको महाभियोग लगाएर अपदस्थ गरिएको थियो।

हाल कारावास सँजाय भोगिरहेकी पार्कर्को मंगलबार दक्षिण कोरियाको राजधानी सोलस्थित सेन्ट मेरिज अस्पतालमा कुमको शल्यक्रिया गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

चिकित्सकले उनलाई करिब तीन महिना लामो फिजिकल थेरापीको आवश्यकता रहेको जनाएका छन्। उनको आफ्नै खर्चमा यो उपचार गरिएको हो।