बझाङ सदरमुकाममा खानेपानीको हाहाकार,धारामा पानी हैन लेदो आउँछ


ललित सिंह,बझाङ् । जिल्लाको मुटु मानिने बझाङको एक मात्र शहरउन्मुख क्षेत्र चैनपुरमा खानेपानीको चरम समस्या रहेको छ । चार दिन विराएर धारामा पानी आउन थाले पछि यहाँका बासिन्दा सेती नदी र बाहुली गाढ खोलाको धमिलो पानी पिउन बाध्य छन । चैनपुर बझाङ जिल्लाको सदरमुकाम पनि हो ।

सदरमुकाम क्षेत्रमा बसोबास गर्ने करिब ११ सय घरधुरीको खानेपानी व्यवस्थापन गरिरहेको चैनपुर खानेपानी उपभोक्ता समितिले गरिरहेको छ । समिति अन्र्तगत हाल सदरमुकाम क्षेत्रमा ४ सय ८० वटा धारा जडान गरिएका छन ।

समितिले असमान तरिकाले पानीको वितरण गरेका कारण बर्खायाममा पनि खानेपानीको समस्या भोग्नु परिरहेको उपभोक्ताहरु बताउछन । ‘कसैको धारामा विहान बेलुकै पानी आउछ ।

कसैकोमा चार दिन विराएर आउछ’ एक जना उपभोक्ता सुभास सिंहले भने ‘बर्खायाममा पनि सेती र बाहुली गाढको फोहोर पानी पिउनु परिरहेको छ’ उनले उपभोक्ता समितिले अवाञ्छित लाभ लिएर निश्चित व्यक्तीका लागि हटलाईन (निरन्तर पानी आउने) धारा जडान गरिदिएका कारण सर्वसाधारणलाई पानीको दुख भएको बताए ।

केही दिन यता खानेपानी मुल ट्याङ्कीमा भल पसे पछि चार दिन विराएर आउने पानी पनि पिउनै नमिल्ने खालको लेदो हुने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन ।‘कपडाले छान्दा पनि पानी सफा हुदैन’ एक उपभोक्ता सरिता खड्काले भनिन ।

‘सेतीको पानी पनि धमिलो भएकाले दुइ तिन पटक छान्दा पनि सफा नहुने यही पानी खाइरहेका छौ’ बर्खायामको भल मिसिएको धाराको पानी र सेती नदी बाहुलीगाढ खोलाको दुषित पानी पिउँदा मानिसहरु विरामी हुन थालेका छन ।

‘दिन पिच्छे कोही न कोही विरामी भएका भयै छन’ चैनपुरका प्रकाश ताम्राकारले भने ‘अस्पतालमा गए स्वास्थ्यकर्मीहरुले फोहोर पानी पिएका कारण यस्तो भएको हो । अव सफा पानी पिउनु होला भन्छन ।

यहाँ खानेपानीको अवस्था यस्तो छ ।’धारामा कहिले काँही मात्रै पानी आउने गरेको कारण आफुहरुले दिशापिसाब बगेको देख्दा देख्दै पनि बाउलीगाढ खोलाकापानी पिउनु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

सेती नदी र बाहुली गाड खोला सदरमुकाम भरीबाट निस्कने कुहिने तथा नकुहिने फोहोर बगाउने गरिएका कारण पछिल्लो समय यो पानी पिउदा मानिसहरु दैनिक जसो विरामी हुने गरेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

सदरमुकाम क्षेत्रका मानिसहरुमा पछिल्लो समय पानीजन्य संक्रमणका बिरामीको संख्यामा निकै बृद्धी भएको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ ।

दुषित पानी पिएका कारण टाइफाइड, हेपाइटाइटिस ए, हेपाइटाइटिस ई, जन्डिस, आउँ, झाडापखाला जस्ता बिरामीको संख्या अधिक हुने गरेको जिल्ला अस्पतालका डाक्टर मिलन रावलले बताए ।

यता चैनपुर खानेपानी उपभोक्ता समितीका अध्यक्ष लोकेन्द्र विष्टले भने विर्या खोलामा रहेको ईन्टेक भन्दा माथि बनाईको सडकबाट आएको पहिरोकोे भल बगेर ट्याङ्कीमा पसेको कारण पानी धमिलो आउने गरेको बताए ।

‘सडक खन्दा ठाउँ ठाउँमा पाइपहरु फुटेका भएर पनि धमिलो पानी आउन थालेको हो’ उनले भने । ‘यो समस्या समाधान गर्नका लागि हामी लागि रहेका छौ’
कसैको धारामा नियमित पानी आउने र कुनै धारामा चार दिन विराएर पानी आउने कारणबाट जिज्ञासा राख्दा उनले चैनपुर खानेपानी आयोजनाका दुइ वटा अलगै मुहान र अलगै ट्याङ्की भएकाले त्यसो हुने गरेको बताए ।

‘दुइ वटा अलग मुहान र ट्याङ्कीबाट पानी वितरण गरिएकाले तेसो भएको हुन सक्छ ।’ उनले भने ‘कुनै ट्याङ्की विग्रदा नियमित पानी नआएको र अर्काेमा आएको देखेर मानिसहरुले त्यसो भनेका होलान’ यस तर्फ सबैको ध्यान जान आबश्यक देखिन्छ ।