बाँके घटनामा गृहमन्त्रीको जवाफः ‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’


न्युज अफ नेपाल, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा (बादल) ले बाँकेमा कांग्रेस सभापतिमाथि भएको अक्रमणको घटना सत्तारुढ दलले निर्देशन दिएर नभएको बताएका छन् । तर, नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’

यस्तै गत शनिबार नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताएका थिए ।

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको आक्रमणमा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

कोइरालाको हात भाँचिएपछि उनका छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।