शिक्षक नियुक्ति गर्ने भन्दै एक लाख घुस लिने प्रधानाध्यापकसहित ५ जना अख्तियारको नियन्त्रणमा


वीरगन्ज, पर्साको वीरगन्ज महानगरपालिका–३१, बेहवा प्रसौनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका– ८ स्थित चिया पसलबाट शुक्रबार उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारी छन्।

करारमा शिक्षक नियुक्ति गरिदिने भनी सर्वसाधारणसँग घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

सर्वसाधारणसँग रु १ लाख लिइसकेको अवस्थामा आयोगको कार्यालय हेटौंडाको टोलीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।