मैत्रीपूर्ण कुस्ती गर्न चाहन्छौं


पोखरा, (नेस)। साग गेमलाई लक्षित गर्दै नेपाल भारतबीच मैत्रीपूर्ण कुस्ती हुने भएको छ। साग गेमको समय नजिकिएको सँगै नेपालसँग मैत्रीपूर्ण कुस्ती खेल्ने चाहना रहेको भारत कुस्ती संघ तथा एसिया कुस्ती संघका उपाध्यक्ष व्रज भूषणशरण सिंहले बताउनुभयो।

नेपालीको शरीर बलियो छ, जुन कुस्तीका लागि महवपूर्ण पनि छ, भारत कुस्तीको उत्कृष्ट ६ भित्र पर्छ ।हामी मैत्रीपूर्ण खेल पोखरामा गराउन चाहान्छौं’ –सिंहले भन्नुभयो। मैत्रीपूर्ण खेल हुँदा खेलाडीको समेत मनोबल उच्च हुने विश्वास रहेको उहाँले बताउनुभयो।

खेलाडीलाई तयारी बनाउनका लागि असोजको पहिलो साता नेपाल र भारतका खेलाडीबीच मैत्रीपूर्ण कुस्ती प्रतियोगिता गर्ने योजना रहेको छ। मैत्रीपूर्ण खेलमा १० जना महिला र १० जना पुरुष नेपाल र भारतको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

प्रायः मध्यम वर्गीय समुदायका मानिसले कुस्ती खेल खेल्ने सिंहले बताउनुभयो। नेपालमा कुस्ती खेलमा आबद्ध भएका मध्ये अधिकाशं तराई क्षेत्रका रहेका छन्।

सिंहले नेपालमा कुस्ती खेलको सम्भावना रहेको भन्दै यसका लागि भारतले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनुभयो। ‘हामीलाई खेलाडी दिनुस् निःशुल्क रूपमा हामी प्रशिक्षण दिई विश्वस्तरको खेलाडी बनाउँछौं, यसका लागि नेपाल तयार हुनुपर्छ’ –सिंहले भन्नुभयो।

उहाँले मानव विकाससंगै कुस्ती खेलको पनि विकास भएको बताउनुभयो। भारत कुस्ती खेलमा विश्वमा नै ८ नम्बरमा रहेको छ। नेपाल कुस्ती संघका अध्यक्ष राज महोम्मद अन्सारीले मैत्रीपूर्ण खेलले नेपाल र भारतीय खेलाडीलाई सहयोग हुने बताउनुभयो।

‘भारत र पाकिस्तानबीच केही समस्या आएका कारण प्रतियोगितामा भारतीय र पाकिस्तानी खेलाडी सहभागी हुने नहुनेमा शंका अब छैन, सबै खेल्नेछन् र साग गेम हुन्छ।’ –अन्सारीले भन्नुभयो।