भारतमा अढाइ, नेपालमा १३ किलोमिटरको दूरीमा पोस्ट

0
Shares

नेपाल समाचारपत्र, बाँके

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर भूभाग पर्छ। सजिलो भाषामा यसलाई नाका भन्ने गरिन्छ। यो क्षेत्रमा साना ठूला बाटाहरू छन्। त्यसले गर्दा कतिपयले मुख्य नाका र छोटी नाका भन्ने गर्दछन्।

सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ। सीमा सुरक्षासँग धेरै कुरा जोडिन्छन्। सीमामा हुने सबै प्रकारका अपराध यसमा पर्ने नै भयो। सीमामा हुने हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्छ।

तर, बाँकेको सीमामा सशस्त्र प्रहरीको उपस्थिति अलि कम भएको गुनासा आइरहेका छन्। पारी भारतले अढाई किलोमिटरको दुरीमा एसएसबीको पोस्ट खडा गर्दा नेपालतिर त्यस्तो मापदण्ड नै बनाइएको छैन्। नेपालमा एउटा वीओपी ९सशस्त्र प्रहरीको पोस्ट०ले कम्तीमा १३ किलोमिटरको दुरी हेर्नु पर्दछ। सीमा सुरक्षा बल ३० नम्बर गणका गणपति एसपी दीपक अधिकारीका अनुसार, बाँकेमा ५ वटा वीओपी छन्। कटकुइया, नरैनापुर, गंगापुर, कालाबन्जार र बढैयामा सशस्त्र प्रहरीका वीओपी रहेका छन्। पाँचमध्ये दुई वटा स्थापना गरेको केही महिनामात्रै भएको छ।

एउटा वीओपीमा ३० जना हाराहारीमा जनशक्ति रहने गर्दछन्। तीमध्ये केही बिदामा गएका हुन्छन्। केहीले भित्रै काम गर्नुपर्छ। १५÷१६ जनाले बाहिरी रेखदेख गरेको पाइन्छ। एउटा पोस्टदेखि अर्को पोस्टसम्म गस्ती गर्नु चुनौती नै रहेको छ। एसपी अधिकारीले नाकामा एक्लै र दुई देशको संयुक्त गस्ती निरन्तर भइरहेको बताउनुभयो।

भारतमा अढाई किलोमिटरमा एउटा पोस्ट राखिदा नेपालमा कम्तीमा पाँच किलोमिटरको दुरीमा पोस्ट राख्नेबारेमा सोच्न थालिएको छ। भर्खरै जिल्लामा आएका एसपी अधिकारीले पाँच किलोमिटरको दुरीमा पोस्ट राख्ने योजना बनाएको जानकारी दिनुभयो। ‘कहाँ कहाँ राख्न सकिन्छ। मैले योजना बनाउदै छु, एसपी अधिकारीले भने, ५ किलोमिटरको दुरीमा वीओपी भएर सबैलाई गाडी दिन सकेमा नाकाको निगरानी चुस्त हुन्छ।’

वीओपी बढाउँदा जनशक्तिको कुरा आउँछ। स्रोत साधन त्यसमा जोडिन्छ। सशस्त्र प्रहरीमा पनि जनशक्तिको कमी नै रहेको छ। हुन त भारतको एउटा पोस्टमा १५/२० जनामात्रै राखिएका छन्। थोरै दुरीमा पोस्ट खडा गरिदा ठूलो जनसंख्या चाहिँदैन भन्ने यसले पनि देखाउँछ।

यता, पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरीका तीन वटा युनिट रहेका छन्। कुसुम, शमशेरगंज र खैरीखोलाको युनिटले राजमार्गको सुरक्षा दिएको छ। विशेष गरेर चाडपर्वका बेलामा राजमार्गमा पर्ने जंगल क्षेत्रमा लुटपाट हुने गर्दछ। त्यसका लागि सशस्त्र प्रहरीले खैरीखोलामा विशेष व्यवस्था गरेको छ। एसपी अधिकारीले राजमार्गमा जुनसुकै ठाउँमा १०देखि १५ मिनेटमा पुग्न सकिने बताए।

पिलरको दुर्दशा
बाँकेमा मुख्य र सहायक गरी नौ वटा पिलर खोलाले बगाएको छ। २५ वटा पिलर पुननिर्माण र मर्मत गर्नुपर्ने अवस्थामा छन्।
लामो समयदेखि जंगी ९मुख्य० र सहायक पिलर खोलाले बगाउँदा, पुनर्निमाण र मर्मत गर्नुपर्ने हुँदा सरकारले वास्ता गरेको छैन। पिलर पुनर्निर्माण तथा मर्मत दुई देशका अधिकारीको उपस्थिति गर्नु पर्दछ। बाँकेमा लामो समयदेखि साविक ठाउँमा पिलर नहुँदा सरकारले ध्यान दिएको छैन।

सीमा सुरक्षा बल ३० गण हेडक्वाटर बागेश्वरीका अनुसार, जिल्लामा ३ सय ७ वटा पिलर रहेका छन्। ३२ वटा जंगी पिलर छन्। त्यसमध्येमा चार वटा खोलाले बगाएको छ भने एउटा पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ।

त्यस्तै, २ सय ४६ वटा सहायक पिलर रहेका छन्। त्यसमा ५ वटा खोलाले बगाएको छ। २१ वटा मर्मत र तीन वटा पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ।