जनताले सुविधा–सहुलियत नपाउनु, सस्तोमा कुनै कुराको उपभोग गर्न नपाउनु, सस्तो मनोरञ्जन नपाउनु, यसलाई नून–मसला कम भएको मुलुक भन्न सकिन्छ। लोकतन्त्र आएर पनि हाम्रो जस्तो सुन्दर देशमा सधैँ न्याय नपाउनु, महँगी नियन्त्रण नहुनु, सवारी समस्या भइराख्नु र लालच सोच परिवर्तन नहुनु आदि के हो त ?
यो मुलुकमा नेताहरूको योगदान छ। कारण राजतन्त्रउप्रान्त यहाँ सबै कुरा आयो– लोकतन्त्र, संविधान, संघीयता। तैपनी मुलुक व्यवस्थितरूपमा जान सकेन। औसतमा प्रायः मानिसहरू खुशी हुन सकेनन्। कारण लोकतन्त्रपश्चात् जुन सरकार आए पनि यहाँ भ्रष्टाचार र पैसाको भूलभूलैया रोक्न सकिएन, अन्यथा नेपालमा सरकारी स्कूल, कलेज, हस्पिटल, राजमार्ग, पुलहरू, वातावरण आदिको विकास हुन्थ्यो होला। खै त तीन दशक बित्दा पनि मुलुकको सरकार व्यापारीजस्तो देखिराखेको छ। बढी कर, शुल्क, रेमिट्यान्स र दाताको मुख ताक्ने बानीमा नै सरकार सधैँ चलिराखेको हुन्छ। यहाँ हामी भन्छौं– पहिला जनतालाई चाहिने कुराहरू पूरा गरौं, त्यसपछि जहाज चलाउने, रेल गुडाउने, रकेट उडाउने कुरा त पछि हुँदै गर्छ नि समयको
मागअनुसार !
मुलुकमा नेताहरूले सबै कुरा ल्याए, केही नेपालीको जीवनस्तर पनि बढाए। साथैसाथै केही गल्ती प्नि गरे। यहाँ शिक्षाको कमी, राजनीतिक कलह, देश हाँक्नेहरूको विदेशप्रति बढी झुकाव अथवा कडा प्रधानमन्त्रीको आगमन नै नभएको हो त रु यो कुरा सोचनीय छ। यत्रो योगदान भएर पनि नेताहरूमा यो सोच आएन, अब हामीले अरू नयाँ–नयाँ पार्टीलाई पनि मौका दिनुपर्छ। कारण अब यो मुलुकमा वर्तमान सत्तासञ्चालकदेखि धेरैजसो व्यक्तिहरू अघाइसकेका छन्। त्यसकारण अब हामीले नयाँ पार्टीहरूलाई पनि मौका दिनुपर्छ। यसबाहेक आफ्नो पार्टीमा पनि राम्रा व्यक्ति तथा नयाँ अनुहारहरूलाई चुनावको समयमा टिकट दिने हो, नकि सधैँ आफ्नो मान्छेलाई मात्र टिकट दिएर उम्मेदवार बनाउने हो।
जुनसुकै सरकार आए पनि प्रधानमन्त्रीहरू कडा हुन नसक्नु नै यो देशको विडम्बना हो। मुलुक द्रुत विकासमा जान नसक्नुको कारण पनि यही नै हो। हुन त प्रधानमन्त्रीले कुर्सी समात्नेबित्तिकै उनलाई कैयौं झमेलाले घेरेको हुन्छ। यस्ता समस्यालाई सल्टाउनु नै प्रधानमन्त्रीको खूबी हो, जुन आजसम्म मानिसहरूले हेर्न पाएनन् यो मुलुकमा, अन्यथा यो मुलुकमा भ्रष्टाचार, असुरक्षा, महँगी सबैको समाधान हुन्थ्यो होला।
एकपल्ट फेरि भनौं, अहिलेको परिप्रेक्ष्यमा मुलुकमा नयाँ–नयाँ नेता तथा नयाँ–नयाँ पार्टीहरूको खाँचो छ, चाहे कम नै किन नहोस्, हाम्रो देशमा शायद यही बाध्यताले खाए खा नखाए घिच भनेझँै हामी सधैँ उही अनुहारलाई भोट दिन बाध्य हुन्छौं। अलिकति स्वार्थ भावना त्यागेर यो संस्कारलाई बदलौं, अनि कसरी हाम्रो देशको विकास नहोला त, हेरौं न।
जुनसुकै सरकार आए पनि भिजनको कमीले गर्दा नचाहिने कुराहरूमा अल्झिराखेको हुन्छ। यहाँ राम्रा विज्ञहरूको कमी छैन। यस्ता विज्ञहरूको परामर्श लिएर देशलाई अघि बढाउनु आजको आवश्यकता हो। अन्यथा सधैँ काण्ड नै काण्ड त हो नि, जुन आजभोलि हामी भोगिराखेका छौं।
हाम्रो देशको अवस्थालाई हेर्दा हरसमय घमण्ड, कलह, द्वेष आदि कारणले गर्दा राजनीतिक अवस्था डामाडोल हुनु स्वाभाविक हो। अर्को कुरा, आफ्ना मान्छेहरूले मात्र कुर्सीको लागि अवसर पाउनु, जान्नेसुन्ने बुद्धिजीवीहरू बेकार भएर बसिराख्नु, योभन्दा लाजमर्दो कुरा अरू के होला देशका लागि रु यस्तो बेला अबउप्रान्त हरेक सरकारी पदको पूर्तिका लागि खुल्ला प्रतियोगितामार्फत नै हुनुपर्दछ, चाहे त्यो आन्तरिक क्षेत्रमा नै किन नहोस्। देशमा ऋणभार, उद्योग व्यापार घाटा, बढी निर्यात, बैंकमा तरलता आदि कुराले गर्दा सबैको कपाल दुखाइ भएको छ। यसबाहेक युवापुस्ताको विदेश पलायन रोक्ने योजना हुन सकेको छैन।
मुलुक हाँक्नेहरूले यो देशको अवस्था राम्रो गर्नका लागि भ्रष्टाचार, गुटबन्दीको अन्त्य गर्नुपर्छ। साथै कर्मचारी फेरबदल, विज्ञहरूको राय–सुझाव आदि कुरामा ध्यान पु¥याउनु जरुरी छ। समग्रमा भन्नुपर्दा देशमा जुन प्रणाली आए पनि सर्वप्रथम राम्रो सोचको विकास गर्ने हो। नकारात्मक र सानो–पुरानो सोच त्यागी एक–अर्कालाई सहयोग गर्ने हो। नकि एक–अर्कालाई लाञ्छना लगाई मुलुकको दु्रत विकासलाई रोक्ने हो। अहिलेको अवस्थामा जनता सक्षम हुनु पनि उत्तिनै जरुरी छ। पैसा कमाउनु, खानु, पिउनु, मोज गर्नु आफ्नो ठाउँमा छ, यसबाहेक हामीले अलिकति राष्ट्रिय भावना जगाउनुपर्छ। नून–मसला नपुगेको सुन्दर मुलुकलाई यी कुराहरू पूरा गरेर झनै सुन्दर बनाउनुपर्छ।
रेशमकेशरी वैद्य
छेत्रपाटी, काठमाडौँ
प्रतिक्रिया