ड्रोनले तार तानेर निर्माण गरिएको काबेली करिडोर सञ्चालनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
१३२ केभी प्रसारण लाइन काबेली करिडोर सञ्चालनमा आएको छ । फिदिम (थापाटार)–अमरपुर (पा“चथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माणसकिएको छ ।

पा“चथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि सो करिडोर निर्माण गरिएको हो । आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा थिए ।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’ मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो , राइट अफ वेको समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घर घरमा समेत गयौं’ उहा“ले भन्नुभयो ।

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन शुरु (सीओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उहा“ले बताउनुभयने ।

आर्थिक वर्ष २०६३÷६४मा शुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एन्ड एस्टर जेभीले ठेक्का सम्झौता गरेको थियो । ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

यसैबीच तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २ दशमलव २ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । ‘त्यहा“ चार सयको हाराहारीमा रुख काट्नुपर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं त्यसैले ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तान्यौं,’ उहा“ले भन्नुभयो ।
अमरपुर सबस्टेसनमा विद्युत जोडिने २५ मेगावाटको काबेली बी १ को प्रर्वद्धक अरुण काबेली पावर र ९ दशमलव ९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको प्राधिकरण जनाएको दिएको छ ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो ।