नेताहरुको चुनावी मुद्दा बन्दै डोटीको भेल्छडाको पानी


विमल विष्ट, डोटी ।
बिसं २०१६ सालमा प्रथम आम निर्वाचन हुँदा डोटी जिल्लाका नेता शिवराज पन्तले जिल्ला सदरमुकाम सिलगढी संगै जोडिएको साबिकको केलना गाउँ बिकास समितिको स्थानिय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र साबिकको डौड गाउँ बिकास समिति स्थित भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने बाँचा गर्नु भयो । उहाँ चुनाव जितेर मन्त्री पनि हुनु भयो ।

उहाँले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने बाँचा त पूरा गर्नु भयो तर भेल्छडाको पानी पश्चिम चौकी पु¥याउने बाँचा भने बिर्सिनु भयो । त्यसपछिका निर्वाचनहरुमा भेल्छडाको पानी सबैका उमेदवारहरुका लागि प्रमुख चुनावी मुद्दा बन्दै गयो, तर निर्माण कहिल्यै पुरा भएन । “शिवराज पन्त मन्त्री हुँदा साबिकको डौड गाबिस तथा हालको सायल गाउँपालिका भेल्छडाको पानी पश्चिम चौकीमा ल्याउने भन्ने कुरा उठेको थियो रे”, त्यतिवेलादेखि यहाँका बासिन्दाहरुले भेल्छडाको पानीको आशा गरे तर त्यो सपना मात्रै भयो”, डोटी आदर्श गाउँपालिका वडान. ३ का स्थानिय तथा समाजसेवी चन्द्रदेव पाठकले पुरानो कुरा सम्झीदै भन्नुभयो, “हामीलाई भोट माग्दा सबैले पानीकै आस देखाए तर बाँचा कसैले पुरा गरेनन् ।”

जिल्लाको आदर्श गाउँपालिकाको केन्द्र मौवा नगरदहमा अहिले पिउनलाई पनि पानी नभएको भन्दै स्थानियहरु नेताहरु प्रति आक्रोसित भएका छन् । उनिहरु भन्छन्, “बिसं २०४८ साल यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बन्दै भयो तर कसैले पनि बनाएनन् ।” बिसं २०४८ सालको निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार भक्तवहादुर बलाएरले भेल्छडा खानेपानीको विषय उठाएको सम्झदै स्थानियबासी चन्द्रदेव पाठक थप भन्नुहुन्छ, “बलायर ज्यूले तीन÷तीन पटक चुनाव जित्नु भयो, मन्त्री पनि हुनु भयो तर पनि पानी ल्याउने बाँचा भने बिर्सिनुभयो ।” तत्कालीन एमालेका उम्मेदवार हर्कवहादुर सिंहले पनि बिसं २०६४ सालको निर्वाचनमा भेल्छडाकै नाममा भोट मागेको तर जितिसकेपछि चार वर्षे कार्यकालमा उहाँले पनि योजना वनाउन नसकेको आरोप स्थानियबासीको छ ।

बिसं २०७० सालमा कांग्रेस बाट चुनाव जितेका वीरबहादुर बलायर र बिसं २०७४ मा एमाले बाट चुनाव जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा बनेको तर काम कसैले नगरेको पाठकले दुखेसो गर्नु भयो । आदर्श गाउँपालिका वडान. १ भाँसीका स्थानिय तथा डोटी उद्योग बाणिज्य संघका महासचिब दीपकबहादुर खड्का अहिले गाउँमा स्थानिय सरकार बनिसकेकाले अब उक्त पानी स्थानिय सरकारकै पहलमा निर्माण हुन पर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अब स्थानीय सरकार बनेको छ, गाउँपालिकाले झिना मसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस् योजना बनाइदिए हुन्थ्यो ।” भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायरद्वय गरी तीन जना मन्त्री पनि हुनुभयो । सिंह चार वर्षसम्म संविधानसभा सदस्य रहनु भयो भने आलेमगर बर्तमान संघीय सांसद हुनुहुन्छ । तर, भेल्छडा भने जहाँको तही रहेको आदर्श गाउपालिका १ का अर्का स्थानिय कृष्णवहादुर खड्काले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, “वर्षादको समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर फागुनदेखि असारसम्म त निकै दुःख छन्,हामीलाई अरु केही हैन खानलाई पानी भएपुग्छ ।”

चुनावको बेलामा नेताहरुले पश्चिम चौकीको खानेपानीलाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उहाँको आरोप छ । पानी नभएका कारण व्यवसाय गर्न झनै समस्या भएको त्यहाँका स्थानीय होटल व्यवसायीहरु बताउँछन् । मौवा नगरदहमा आदर्श गाउँपालिकाको केन्द्र भएपछि हाल चहल पहल बढेको तर पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको स्थानियबासी गणेश ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको केन्द्र भएकनले मान्छेको चहल पहल बढी हुन्छ तर पानी छैन,कस्तो बिडम्बना छ ।”

खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजना लागू गर्ने तयारी भइरहेको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । “हामी खानेपानीको सम्भावनाको विषयमा छलफल गर्दैछौं’ अध्यक्ष रोकायाले भन्नुभयो, “सायल गाउँपालिकासंङ्ग पनि भेल्छडाका लागि छलफल गर्छौं, अन्य सम्भावनाहरु पनि खोजी गर्दैछौं ।” खानेपानी निर्माणमा प्रदेश सरकार र अन्य संघ संस्थाहरुसंङ्ग पनि छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । भैल्छडाको पानी ल्याउन अव सम्भव नभएको बताउँनुहुन्छ्, आदर्श गाउँपालिकाका पूर्व माननीय लालवहादुर खड्का । आदर्श गाउँपालिका वडान. १ मौवा घर भएका खड्का भन्नुहुन्छ, “अव सायली गाडबाट पानी तान्ने वा डिप वोरिङ्ग गर्ने योजना बनाउनु पर्छ,भेलछडाको आस नगरे हुन्छ,त्या सम्भव छैन ।”

भेलछडाको पानी नआउदा मौवालगायत त्यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाविसहरुमा खानेपानीको समस्या रहेको स्थानियबासी तथा सञ्चारकर्मी रामहरी ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “भेलछडाको पानी नआउदा साबिकका पाँच गाबिसका हजारौ नागरिकलाई समस्या भएको छ,नेताहरु चुनावको बेला आउछन,पानी ल्याउछु भन्दै भोट माग्छन र पछि बिर्सिन्छन् कस्तो दुःखद कुरो छ ।” पानीको समस्यामा परेका नागरिकलाई अन्य बिकासका योजना दिनुभन्दा भेलछडा खानेपानी निर्माण गरिदिन स्थानियले बिभिन्न पार्टिका राजनैतिकदल तथा खानेपानीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई आग्रह गर्दै आएका छन् ।

गाउँमा कुनैपनि राजनैतिक दलका ठूला नेताहरु आउदा त्यहाँका स्थानियले त्यहि भेलछडा खानेपानीको विषयमा नै जहिलेपनि कुरो उठाउने गरेकाछन् । भेल्छडा खानेपानी आयोजना बृहत तथा राट्रिय स्तरको खानेपानी योजना भएकाले आफुहरुले खासै सहयोग गर्न नसकेको खानेपानीको क्षेत्रमा डोटीमा कामगर्दै आएको संस्था नेवाले जनाएको छ । जिल्लाका बिभिन्न गाउँपालिकाहरुमा लामो समय देखी उक्त संस्थाले खानेपानी निर्माण लगायतका कामहरु गर्दै आएको स्थानियबासीहरु बताउछन् ।