करको आतंक



राजधानीको एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा आइतबार अन्दाजी ५० वर्षका एक व्यक्ति सोधपुछ शाखाको झ्यालैअगाडि फनन्न घुमेर भुईमा पछारिए ।

अन्दाजी २ बजेको थियो, उनी मिनी मारुती आठ सय सीसीको कर कति लाग्छ भनेर सोध्दै थिए । उनको ब्लु–बूक हेर्दै उनीजस्तै उमेरका कर्मचारीले क्याल्कुलेटर थिचे, एकछि घोरिए, पानाहरु पल्टाएर भने, ‘लाग्ने त २२ हजार रुपियाँ हो, तर अब ४४ हजार रुपियाँ लाग्नेभयो, एक दिन ढिला ग¥यो कि डबल दस्तुर लाग्छ, तपाईंको त झण्डै एक महिना नै ढिला भइसकेछ !’

झ्यालभित्रबाट पाका कर्मचारी बोल्दैथिए, बाहिर भित्ता समाएर उभिएका सेवाग्राही ढलिहाले, ढल्दाढल्दै उनले यति भन्न चाहिं भ्याएछन्, ‘आफ्नो त कबाडी बाहन छ, घरिघरि बिग्रेर बनाउँदाको हैरान्, त्यसैमा कर नै चर्को, २२ हजार, अब शतप्रतिशत जरिबाना लिएर ४४ हजार !’

सबै मिलेर ढलेका सेवाग्राहीलाई पंखा हम्केर सेवा दिन थाले, तर उनले हिक्क–हिक्कको ध्वनि मात्र सञ्चार गरे, बौरेनन् । कसैले टिप्पणी ग¥यो, ‘मान्छे त ४४ हजार सुनेकै भरमा ढल्नेखालका त लाग्दैनन्, झ्याप्पै ढले त !’
अर्कोले जबाफ दियो, ‘यी मानिस नेपालमा जन्मिन योग्य लागेन, मुलुकमा तीन लहको सरकार छ, लोकतन्त्रको आधुनिक स्वरुपमा हामी छौं, सबैतिर वाहवाह छ, तर यसका लागि कर नतिरेर हुन्छ !’

एक महिलाले थपिन्, ‘हामीबाट यसरी नै निचोरनाचर पारेर कर उठाएपछि संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिले तलब–भत्ता खानुप¥यो, महँगा गाडी गढ्नुप¥यो, खै कुरा बुझेको !!’

‘बुझ्न त बुझेका थिए होलान् नि, तर रिंगटा लाग्ने, पछारिने कुरा पनि योजना बनाएर गरिन्छ र’ एक युवाले सेवाग्राहीको टाउको काखमा राखेर दुवै गालामा पाटपिट पारे विस्तारै । तर, सेवाग्राही अझै ब्युतेका थिएनन् ।

‘ए…, यी बुढा मान्छे निकै सोझा रहेछन्, आज तिरे पनि डबल दस्तुर, एक वर्षसम्म जहिले तिरेपनि त्यही डबल, म त जरिबानाको २२ हजार व्याजमा लगाउने हो, कुनै सहकारी–तहकारी खोज्ने हो, क्यालेण्डरमा चिन्ह लगाएर अन्तिम दिन तिर्न आउने हो !’ ढुक्कले कुनामा उभिएका अर्का युवाले सबैलाई सुनाए । यो उपाय ढलेका सेवाग्राहीको कानमा पनि परेछ, उनी ‘ए, हो त नि साँच्चि त’ भन्दै बिस्तारै उठे ।

प्रतिक्रिया दिनुहोस्