कामनासहित कलाकर्मी सम्मानित

अब ६ महिना नेपाली फिल्म चलाउनैपर्छ

0
Shares

राष्ट्रिय पुरस्कार २७ गते राष्ट्रपति भवनमा

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा कामना न्यूज पब्लिकेसन्स्लाई सम्मान गरिएको छ। २०४१ सालदेखि नेपाली फिल्म उद्योगको विकास र विस्तारका लागि नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिक नियमित प्रकाशन गरी फिल्म क्षेत्रको विकासमा पुर्याएको टेवा र योगदानको कदर गर्दै कामना पब्लिकेसन्स्लाई सम्मान गरिएको हो।

चावहिलस्थित बोर्डको कार्यालयमा सोमबार आयोजित समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले कामनाका सम्पादक तथा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई सम्मानपत्र प्रदान गरेका थिए। सो अवसरमा नेपाली फिल्म क्षेत्रमा २० देखि ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १४ अग्रणी फिल्मकर्मीलाई चलचित्रकर्मी विशिष्ट योगदान सम्मान २०७६ बाट सम्मानित गरियो। समारोहमा मन्त्री बासकोटाले प्रथम अभिनेतृ भुवन चन्द, निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी, संगीतकार शम्भुजित बासकोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मञ्जुकुमार श्रेष्ठ, ध्वनि विज्ञ प्रदीपकुमार उपाध्याय, निर्माता छविराज ओझा, पोस्टर डिजाइनर सुन्दर श्रेष्ठ, पत्रकार विजयरत्न तुलाधार, विज्ञापन व्यवसायी निर्मलराज पौडेल र जापानी फिल्म निर्देशक डा. तोसिआकी इतोहलाई सम्मान गरे। इतोहलाई जापानी भएर पनि नेपाली फिल्म निर्माण गरेबापत सम्मान गरिएको हो।

समारोहमा फिल्म प्रदर्शन गरेर योगदान पुर्याएबापत ४ सिनेमा हल काठमाडौंको विश्वज्योति सिनेमा भवन, क्यूएफएक्स, बिर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई समेत सम्मान गरियो। समारोहमा वार्षिकरूपमा बोर्डबाट प्रदान गरिँदै आएको विशेष फिल्मका लागि छनोट गरिएका बुलबुल, दीपेन्द्र लामाको निर्देशन रहेको गोपी र कथा ७२ लाई विशेष चलचित्र–२०७५ बाट सम्मानित र पुरस्कृत गरिएको छ। बुलबुलबाट मुकुन भुषाललाई सम्मान गरिएको थियो। सोही अवसरमा प्रारम्भिक कालखण्डका पुराना फिल्म एवं ऐतिहासिक वृत्तचित्रलाई डिजिटाइजेसन गर्न उल्लेख्य योगदान पुर्याएबापत महेन्द्रप्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), प्रभाकर भट्टराई र चिरञ्जीवी गुरागाईंलाई पनि कदरपत्र प्रदान गरियो।

कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष केशव भट्टराईले ३ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार प्रदान कार्यक्रम आगामी असार २७ गते राष्ट्रपति भवनमा आयोजना हुने बताए। उनले मन्त्री बास्कोटाको निर्देशनअनुसार साउनबाट आफूहरूले बक्स अफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्यकामा इन्डोर सुटिङ स्टुडियो निर्माण गन र छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए। मन्त्री बासकोटाले कलाकर्मीलाई खालि हात सम्मान गरिएको बताएपछि अध्यक्ष भट्टराईले सम्मानितहरूलाई निकट भविष्यमै रकम उपलब्ध गराउनेसमेत प्रतिबद्वता जनाए। भट्टराईले सरकारले आईफा अवार्डका लागि राज्यका तर्फबाट रकम खर्च नहुने दाबी पनि गरे। ‘आईफा अवार्डका लागि बोर्डलाई पत्राचार भएको थियो। हामीले आउनुस् भनेर पत्राचार गरेपछि बोर्डमै आईफा टिमलाई स्वागत पनि गर्यौँ  ।

यसका लागि राज्यको ढुकुटीबाट एक पैसा पनि खर्च हुदैन। हामीले खालि अवार्ड आयोजनाका लागि स्वीकृति प्रदान गर्न पहल मात्र गरेका हौं’, भट्टराईले भने– ‘त्यस कारण आईफा अवार्डसम्बन्धी कुरालाई अतिरन्जित नगरौं।’ नेपाल चलचित्र विकास कम्पनीले उपभोग गरिरहेको बालाजु औद्योगिक क्षेत्रको जग्गा खोई भनेर प्रश्न उठाएको प्रसंगमा भट्टराईले भने– ‘राज्यबाट प्राप्त बालाजुमा रहेको जग्गाको खोजी गर्ने कार्य भइरहेको छ। मलाई मन्त्रालयमा जाने बित्तिकै मन्त्रीज्यूले जग्गाबारे सोध्नुहुन्छ। यो कुराको लागि केही समय लाग्छ तर काम हुन्छ।’

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बोर्ड सदस्य दयाराम दाहालले सम्मानित हुने सम्पूर्णलाई बधाई दिए। साथै बोर्डको भावी कार्यक्रमबारे पनि जानकारी गराए। ‘हालसम्म आइपुग्दा नेपाली फिल्मले कथावाचन र प्रविधिमा फड्को मारेको छ। नेपाली फिल्मको जग बसाउने र आधुनिक युग हाँक्ने सम्पूर्णमा नमन’ –उनले भने। फिल्मकर्मी तथा बोर्डका संस्थापक अध्यक्ष यादव खरेलले चलचित्र नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै बोर्डले पुराना चलचित्र डिजिटलाइजेसन गरेको प्रति प्रशंसा गरे। ‘बोर्डले नासिन लागेका पुराना नेपाली फिल्मको डिजिटलाइजेसन गरी संस्कृति संरक्षणमा राम्रो प्रयास गरेको छ। चलचित्र नीति पनि चाँडो लागू गरियोस्’, खरेलले भने– ‘नेपालमा हुन लागिरहेको आईफा अवार्डको चौतर्फी विरोध भइरहेको छ। यत्रो वर्षदेखि आफ्नो नेपाली फिल्मको विकासका लागि ध्यान निदिएको राज्यले विदेशी अवार्डका लागि एक अर्ब खर्च गर्नु भनेको निकै दयनिय विषय हो। यति पैसा सरकारले नेपाली फिल्मका लागि खर्च गर्ने हो भने नेपाली फिल्म क्षेत्र अर्कै तहमा पुग्छ।

यस कारण नेपाली फिल्मलाई बढवा दिने काम गरियोस् र जनताले ट्याक्स तिरेको पैसा विदेशी अवार्डलाई नदिइयोस्।’ कार्यक्रममा बोर्डले प्रकाशन गरेको बुलेटिन चलचित्र मञ्चको नयाँ अंकसमेत सार्वजनिक गरिएको थियो।

आइफालाई एक रुपियाँ पनि दिने कुरा छैन :  मन्त्री बास्कोटा

बोर्डको वार्षिकोत्सवमा प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आगामी साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागु हुने, टेलिभिजनमा क्लिन फिल्ड लागु गर्ने, फिल्म छायांकनका लागि नेपाल चलचित्र विकास कम्पनीले उपभोग गरिरहेको बालाजुको जग्गा फिर्ता लिएर काठमाडौंमै सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, ६ महिना अर्थात् १ सय ८० दिन अनिवार्यरूपमा नेपाली फिल्म प्रदर्शन गर्नुपर्ने कानुन ल्याउने र आईफा अवार्डलाई ढुकुटीबाट रकम नदिइने बताए।

बास्कोटाले यसपटक वर्ष बक्स अफिस र क्लिन फिड प्रक्रियामा रहेको र विस्तारै यो कार्यान्वयनमा आउने बताए। उनले १ सय ८० दिनसम्म अनिवार्यरूपमा नेपाली फिल्म चलाउने कानुन ल्याउन लागेको जानकारी गराउँदै यसमा सरोकारवालाको कुरा सुनिने तर कानुन ल्याई छाड्ने बताए। ‘हाम्रो भाषा संस्कृतिभित्र भएका विविधताको रक्षा हुनुपर्छ चाहिँ भन्ने अनि यससँग सम्बन्धित रहेर बनेका फिल्मचाहिँ हलमा जान नपाउने? चलोस् कि नचलोस्, अब आफ्नो देशमा बनेका फिल्म न्यँनतम १ सय ८० दिन हलमा लगाउन हल मालिक तयार हुनुपर्छ। लागेनन् भने फिल्म हलमा ताला लाग्नेछ।

अस्ति जात्रै जात्रा भन्ने फिल्म चलेको बेला पनि विदेशी फिल्मका कारण समस्या भयो। यहाँको लगानी मेहनत र श्रम परेको फिल्ममा हिरो हिरोइन नराम्रै भए पनि के भो त, हाम्रै युवा र चेली त हुन्। अन्तको चाहिँ अचम्मै राम्रो देख्ने? यहाँकाले चाहिँ गाएको, नाचेको, अभिनय गरेको राम्रो नदेख्ने?’, मन्त्री बास्कोटाको भनाइ थियो– ‘त्यसैले अबको कानुनमा बकाइदा १ सय ८० दिन नेपाली फिल्म चल्नुपर्छ भनेर राख्न लागिएको छ। ६ महिना नेपाली फिल्म चलाऊ, त्यसपछि हलिउड चलाऊ, बलिउड चलाऊ, अरू के–के उड छन् चलाऊ।’

उनले इनडोर सुटिङ स्टुडियो निर्माण गर्न नेपाल चलचित्र विकास कम्पनी लिमिटेड बालाजुलाई दिइएको जग्गा फिर्ता लिइनेसमेत बताए। ‘बालाजुको जग्गा खै कसले खायो? म यसमा हात नहाली छोड्दिन। त्यो जग्गा पानीमुनि गए पनि छोडिँदैन। किनभने त्यो सरकारले चलचित्रको प्रवद्र्धनका लागि दिएको हो। त्यो जग्गा खोजेर स्टुडियो बनाऔं न। भोज गरौं, उत्सव मनाऔं। मलाई पनि सेलिब्रेटीहरूसँग सेल्फी खिच्ने मन छ’ –मन्त्री बास्कोटाको भनाइ थियो। उनले लमजुङमा पनि सुटिङ स्टुडियोका लागि करिब ३५ अर्बको सम्झौता हुन लागेको समेत जानकारी गराए। ‘२९ सय मिटरमाथि बन्ने स्टुडियोको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राखिने भनिएको छ’ –बास्कोटाले भने।

उनले काठमाडौंमा आयोजना हुने भनिएको आईफा अवार्डलाई राज्यको ढुकुटीबाट रकम नदिइनेसमेत दाबी गरे। ‘मन्त्रिपरिषद्को निर्णय मैले नै सुनाउने हो। तर, यहाँ त बोलेको भन्दा उल्टो समाचार आउन थाल्यो। मैले क्याबिनेटको कुनै पनि निर्णय सही गरेर आधिकारिकरूपमा जारी गर्ने गरेको छु।

त्यसमा कहीं पनि एक अर्ब दिने भनिएको छैन। मात्र एक वाक्यमा आईफा अवार्ड गर्नका लागि स्वीकृति दिने भनिएको छ। एक अर्ब दिने कुरा मेरो कानले सुनेको छैन, मैले नसुन्या कुरा कसरी निर्णय भयो? आईफालाई एक रुपियाँ दिने कुरा भएको छैन। हुँदाहुँदा यादव (खरेल) दाइलाई समेत भड्काइयो। बलिउड त यहाँ अवार्ड गर्छु भन्यो, हलिउडले पनि नेपालमा अवार्ड गर्छु भन्यो भने गर्न दिने हो?’, सरकारको प्रवत्तासमेत रहेका मन्त्री बास्कोटाको भनाइ थियो– ‘अहिले भिजिट नेपाल पनि छ, डेस्टिनेसन नेपाल पनि छ। जसका लागि पर्यटन प्रवद्र्धन पनि गर्नु छ। नाम चलेका मान्छे नेपाल आउँदा के बिग्रन्छ र? हाम्रो टुँडिखेलमा कार्यक्रम गर्छु, धुम धड्का मच्चाउँछु भन्दा महानगरले केही सहयोग गर्नु नराम्रो होइन। यसबाट नेपाली फिल्म उत्सव उता मनाउनका लागि बाटो खुल्छ कि? यस बारे पनि सोचौं न, सहकार्य गरौं न।’