उपयोगी बन्दै गाउँघर क्लिनिक

0
Shares

रोशन पराजुली, हेटौँडा । मकवानपुरगढी–१ मा रहेको आँपटार सामुदायिक स्वास्थ्य एकाइबाट २२ जनाले सुत्केरी सेवा लिएका छन्। जेठ मसान्तसम्म २२ जनाले सेवा लिएको स्वास्थ्य एकाइ प्रमुख मदनसिंह ठगुन्नाले बताउनुभयो।

नियमित सेवा प्रदान गर्ने सामान्य चेकजाँच, नवशिशु तथा बाल स्वास्थ्य सेवा, परिवार नियोजन सेवा जस्तैः कन्डम, पिल्स, डिपो, इम्पालान्ट सेवा दिँदै आएको प्रमुख ठगुन्नाले बताउनुभयो। उहाँले इम्पालान्ट सेवा हालसम्म २२ जनाले लिएको बताउनुभयो। वडाका स्थानीयबासी विष्णुमाया भोम्जनले स्वास्थ्य एकाइ वडाबासीलाई हस्पिटल नै लागेको बताउनुभयो। गाउँपालिकाको विकटमा पर्ने यातायातको पहुँच नभएको अवस्थामा पाएको दुःख सम्झँदै भोम्जनले उक्त ठाउँमा स्वास्थ्य एकाइ रहेपछि सहजढंगले सेवा पाएको बताउनुभयो।

पहिला सामान्य बिरामी पर्दा पनि उपचारका लागि फुर्केचौर वा हेटौंडा नै पुग्नुपर्ने अवस्था थियो। तर, हाल आफ्नै गाउँटोलमा सुत्केरी सेवासहित सेवा र गाउँघर क्लिनिक सेवाले गाउँबासी नै खुसी रहेको भोम्जनले बताउनुभयो।

एकाइबाट हालसम्म ४ जनाले क्षयरोग उपचार लिएर निको भएको र दुई जनाले उपचार गराउँदै गरेको ठगुन्नाले जाकारी दिनुभयो। भौगोलिक दृष्टिले विकट रहेको वडामा धेरैजसो वडाबासी उपचार गराउन स्वास्थ्य एकाइ आउन मान्दैनन्। तामाङ समुदायको बहुल्यता रहेको वडामा अधिकांश अशिक्षित रहेकाले पनि आउन नमानेको हुन सक्ने ठगुन्नाको भनाइ छ। विभिन्न रोगका स्वास्थ्य शिविर राख्दा केही जटिलता देखिएकाले हेटौँडामा निःशुल्क उपचार गराउने वातावरण मिलाउँदा पनि उपचार गराउन नगएको ठगुन्नाको भनाइ छ।

गाउँपालिकाल वडामा स्वास्थ्य एकाइ राख्ने योजनाअनुरूप प्रत्येक वडामा स्वास्थ्य चौकी एकाइ सञ्चालन गरिएको गाउँपालिका प्रमुख अधिकृत भीम परियारले बताउनुभयो। गाउँपालिकामा राखिएका एकाईंमध्ये वडा–१ ले धेरै काम र सेवा दिएको उहाँले बताउनुभयो। वडा–३ र ४ मा रहेका एकाइ हेटौंडा बजारबाट नजिक भएकाले सुत्केरी सेवालगायत अन्य सेवा लिन हेटौंडा जाने भएकाले जटिल स्वास्थ्य सेवाबाहेक अन्य सेवा भइरहेको उहाँले जानकारी दिनुभयो।

वडा–१ हेटौंडाबाट टाढा र यातायातको पहुँच नभएकाले स्थानीय स्वास्थ्य एकाइमा नै पुगेर सेवा लिने गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक भोला चौलागाँईले बताउनुभयो। ‘हामीले एक वर्षमा नै भवन निर्माण गर्यौ। अर्को भवन तयारी अवस्थामा छ, झयालढोकामा चौकोस हाल्ने काम बाँकी छ। काम सकेपछि सेवाको वृद्धि हुने र सेवा लिनेको संख्या पनि बढ्छ।’ –संयोजक चौलागाँईले भन्नुभयो।
एकाइबाट प्रत्येक महिना ५ स्थानबाट गाउँघर क्लिनिक सेवा दिँदै आएको एकाइ प्रमुख ठगुन्नाले बताउनुभयो। शुरुआतको बेला ३ स्थानबाट सेवा दिइएको र पछि विस्तार गर्दै पाँच स्थानबाट गाउँघर क्लिनिक सञ्चालन गरिएको उहाँले जनाउनुभयो। महिनाको ११ गते डाडाँगाउँ, १५ गते फूलबारी, २० गते मानेडाँडा, २१ गते धाप र २२ गते पिङडाँडामा सेवा दिने गरिएको उहाँले जानकारी दिनुभयो। वडाबासीको सुविधाका लागि गाउँघर क्लिनिक र घरदैलो अभियान लाभदायक रहेको वडा अध्यक्ष आइतसिं लोले बताउनुभयो ।भौगोलिकरूपमा विकट रहेकाले घरदैलो सेवासहित गाउँघर क्लिनिक सेवा लाभदायक रहेको उहाँको अनुभव छ।

सेवा प्रदान गर्नाले प्रायः स्वास्थ्य सेवाबाट वञ्चित नहुने उहाँले बताउनुभयो। ‘हामीले पहिलोपटक एकाइबाट पुरुष स्थायी बन्ध्याकरण कार्यक्रम राख्दा ६ जनाले सेवा लिएका थिए।’ –अध्यक्ष लोले भन्नुभयो। क्रमिकरूपमा विकास निर्माणको काम भइरहेको स्वास्थ्य एकाइसम्म आउने मोटरबाटो बन्दै गएको हुनाले सबै वडाबासीले अब स्वास्थ्य सेवामा पहुँच पुग्ने उहाँको भनाइ छ।

कर्मचारी अभावका कारण सेवा दिन अप्ठेरो भइरहेको अध्यक्ष लोको गुनासो छ। भएका कर्मचारी पनि स्वास्थ्य अवस्थाले गर्दा राजीनामा दिएकाले स्वयंसेवकका रूपमा एक अनमीलाई कार्यालयमा खटाइरहेको अवस्था रहेको उहाँले बताउनुभयो।

दुर्गमका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँघर क्लिनिक स्थापना भएको हो। स्वाथ्य सेवाको पहुँचबाट टाढा रहेका जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँघर क्लिनिक स्थापना गरिएको हो।

क्लिनिकवाट परिवार नियोजन सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, बाल स्वास्थ्य सेवा, खोप सेवा, सामान्य स्वास्थ्य जाँच सेवालगायत सेवा उपलब्ध छन्। गाउँघर क्लिनिक स्थापना भएपछि त्यहाँका बासिन्दा खुसी छन्। सामान्य उपचार र खोप लगाउन घन्टौं हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता घटेको स्थानीय रामबहादुर थापाले बताउनुभयो। गाउँमा गाउँघर क्लिनिक स्थापना भएपछि स्वास्थ्यको पहुँचमा सहज भएको थापाको भनाइ छ। समयानुकूल यसको स्तरवृद्धि गर्दै जानुपर्ने उहाँको भनाइ छ।