मदिरा सेवन नगर्नेलाई प्रहरी सम्मान

0
Shares

दुर्गाप्रसाद शर्मा , पर्वत । समाजमा घरेलु हिंसाको प्रमुख कारण बनेको मदिरा सेवन गर्ने कार्यलाई निरुत्साहित गर्न विभिन्न कार्यक्रम हुँदै आएका छन । मदिरा सेवनले स्वास्थ्य र सामाजिक सुरक्षामा असर पारेको भनेर प्रहरीले पनि जनचेतना जगाउँदै आएको छ ।

तर पर्वत प्रहरीले भने मदिरा सेवनलाई निरुत्साहित गर्दै समाजमा हुने झै झगडा अन्त्य गर्न मदिरा सेवन गर्न छाडेकालाई सम्मान गरेको छ । पर्वतको कुस्मा नगरपालिका–८ चुवामा भएको कार्यक्रममा मदिरा सेवन गर्न छाड्ने प्रतिबद्धता गरेका पुरुष तथा महिलालाई प्रहरी र स्थानीयबासीले सम्मान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपस्थित स्थानीय महिला, वृद्ध र युवाहरुले समाजमा शान्ति सुरक्षा कायम हुन नदिने, झैझगडा हुने तथा घरेलु हिंसाको प्रमुख कारण नै मदिरा भएको भन्दै मदिरा सेवन गर्नेहरुलाई छाड्ने आग्रह गरेका थिए ।

प्रहरी र उपस्थित सबैको कुरा सुनेपछि नियमित मदिरा सेवन गर्ने पुरुष तथा महिलाले सामूहिक रुपमा मदिरा सेवन नगर्ने प्रतिबद्धता जनाएका छन ।
रक्सी सेवन छाड्ने घोषणा गरेका महिला तथा पुरुषलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, वडा अध्यक्ष राजकुमार केसीले खादा र माला लगाएर सम्मान गर्नुभएको थियो ।

‘रक्सी मैले खाएको होइन रहेछ, रक्सीले मलाई खाएको थाहा पाएँ’

मदिरा सेवनले समाजमा घटेका अपराध र स्वास्थ्यमा परेको समस्याका बारेमा जानकारी दिएपछि धेरैको मन परिर्वतन भएको थियो ।

‘रक्सी मैले खाएको छु भनेर अहिलेसम्म खाँदै आएको थिएँ,’ मनबहादुर परियारले भन्नुभयो– ‘रक्सीले मलाई खाइरहेको रहेछ भन्ने थाहा पाएपछि खानै छाड्ने निर्णय गरेको हुँ।’ रक्सी खाएका कारण परिवार, समाज र स्वास्थ्य समेत बिग्रेको कुरा मनमा गढेको बताउँदै मनबहादुर जस्तै गणेश, बाबुराम, टेकबहादुर परियारलगायतका पुरुष र नन्दकली, उजेलीलगायतका महिलाले समेत रक्सी सेवन गर्न छाड्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरुले नियमित रक्सी सेवन गर्दै आएको स्वीकार पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले समाजप्रति नागरिक सचेत रहन हिंसा, दुव्र्यवहार अश्लील स्वभाव तथा त्यस्ता व्यवहारका सोचलाई त्यागी सभ्य नागरिक तथा सभ्यताको पहिचान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले चुवाका नागरिकबाट आफ्ना बानी सुधार गर्न सबैले प्रेरणा लिन सक्नुपर्छ भन्नुभयो । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि समुदायको भूमिका सबैभन्दा बढी भूमिका हुने कुरामा जोड दिँदै प्रहरी र समुदायको सहकार्यबाट नै अपराध, विकृति, विसंगति रोक्न सकिन्छ भन्नुभयो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष राजकुमार केसी, सामाजिक अगुवा मुगा पोखरेल, जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक रामबहादुर भट्ट क्षेत्री, सामुदायिक सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक पूर्णिमा थापालगायतले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।