बुद्धलाई बुझ्न लुम्बिनी बुझ्न जरुरीः प्रम ओली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नु भएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीको समेत भ्रमण गर्न बुद्धधर्मावालम्बीलाई आग्रह गर्नु भएको छ ।

भियतनामको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले आइतवार सो मुलुकको उत्तरी प्रदेश हा नाम प्रान्तमा आयोजित बैशाख सम्मेलन (बुद्ध अन्र्तराष्ट्रिय सम्मेलन)लाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

बुद्ध, बुद्धिजम र लुम्बिनीलाई अलग गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो–‘सबै बुद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले जोड दिदै भन्नुभयो–‘बुद्धलाई बुझ्न लुम्बिनी बुझ्न झन् महत्वपूर्ण हुन्छ, त्यसैले बुद्धधर्म अंगाल्ने जो कोहीले आफ्नो जिवनकालमा लुम्बिनीको गर्नुस् ।’

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ तीन दिने सम्मेलन आइतवार शुरु भएको हो । संयुक्त राष्ट्र संघको पहलमा यस्तो सम्मेलन आयोजना भएको हो ।

सो मुलुकमा यस अघि सन् २००८ र २०१४ मा यस्तै सम्मेलन आयोजना भएको थियो । राष्ट्रसंघले आयोजना गर्ने आगामी वर्षको बैशाख सम्मेलन नेपालले लुम्बिनीमा गर्ने तयारी गरेको ओलीले बताउनुभयो ।

सम्मेलनमा म्यानमारका राष्ट्रपति, भारतीय उपराष्ट्रपति, विभिन्न मुलुकका विशिष्ठ पाहुना, राष्ट्रसंघका उपमहासचिव सहित उच्च अधिकारी सहभागी छन् ।

विभिन्न १ सय १० मुलुकका १ हजार ६ सय विदेशी प्रतिनिधी सम्मेलनमा सहभागी भएका भियनामी समाचार संस्था भियतनाम न्यूज एजेन्सी (भीएनए)ले जनाएको छ । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै भियतनामी प्रधानमन्त्री गुयेन युवान फुकले विश्वमा शान्ति र समृद्धि स्थापना गर्न बैशाख सम्मेलन महत्वर्पूण प्रयास भएको बताउनुभयो । बुद्धले प्रतिपादन गरेका उपदेशका विविध पक्षबारे उहाँले प्रकाश पार्नुभयो ।

त्यसैगरी म्यानमारका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनमा बौद्ध शिक्षाको उपयोग र महत्वका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा अर्का मुख्य वक्ता एवं भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताउनुभयो ।

मानवता तथा भाइचारामा गहन समर्पण नगरेसम्म शान्ति प्राप्त गर्न नसकिने उहाँको भनाई थियो । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको शुभकामना सन्देश सुनाइएको थियो । उहाँको सन्देशमा कार्यक्रमको सफलताको कामना गर्दै विश्वमा शान्ति र दिगो समाज निर्माणमा जोड दिनु भएको छ ।