प्रदेश– १ को राजधानी विकेन्द्रित गर्न खोजेपछि विराटनगरमा सर्वपक्षीय छलफल



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् ।

विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका सहभागीले कार्यपालिका एकातिर र व्यवस्थापिका अर्कोतिर सार्दा जनतालाई सेवा लिन झन् कठिन हुने सुझाव दिए । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विकास अवधारणका लागि ल्याएको भनिएको वृहत विराट क्षेत्रमा राजधानीका संरचना छर्न लागिएको बताउँनुहुंदै प्रदेशसभा इटहरी, मन्त्रालय विराटनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगर राख्दा जनतलाई झन् धेरै दुःख हुने बताउनुभाये ।

उहांले सरकारले ल्याउन लागेको त्यस प्रकारको प्रस्ताव आफुहरुलाई स्वीकार्य नहुने प्रष्ट पार्नुभयो । विराटनगर राजधानीको विकल्प नरहेको बताउँदै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले वृहत विराट क्षेत्रबारे सरकारका मन्त्रीले नै विकासको अवधारणामात्र भनेकोले विराटनगरको विकल्प अन्यत्र हुन नसक्ने जिकिर गर्नुभयो ।

सांसद सावित्रा रेग्मीले विराटनगरमा उपलब्ध भौतिक पूर्वाधारकै हिसाबले अस्थायी मुकाम तोकिएको र अब स्थायी भएर जानुपर्ने बताउँनुहुदै सबै उपलब्ध स्रोतहरुलाई हेर्दा विराटनगर राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो । सांसद यशोदा अधिकारीले राजधानी जस्तो महत्वपूर्ण विषयमा गहन छलपलपछि मात्र सरकारले निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सांसद बसन्तीदेवी यादव र बिन्दिया कार्कीले विराटनगरबाहेक राजधानीको विकल्प नरहेको धारणा राख्नुभयो । अर्थशास्त्री भेषप्रसाद धमलाले राजधानी एकै ठाउँमा हुनुपर्ने विश्वव्यापी मान्यता रहेको चर्चा गर्दै विराटनगरमा अहिले नै उपलब्ध पूर्वाधारले प्रदेश सरकारको धेरै अवाश्यकता पूरा गरेको तर अझ थप गर्न सकिने बताउनुभयो ।

मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रस्तावमा घुमाउरो शब्दहरु प्रयोग गरेर राजधानी अन्यत्र लाने प्रयास भएको आशंका ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले विराटनगर केन्द्रको राजधानीको भार बोक्न समेत सक्षम रहेको बताउनुभयो । सोहि पार्टीका अर्का नेता गुरु बरालले विराटनगर सबै हिसाबले राजधानीको लागि उपयुक्त थलो भएको बताउनुभयो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश एकको स्थायी राजधानीकालागि विराटनगरको अर्को विकल्प नरहेको बताउनुभयो ।

उहांले राजधानीकालागि आवश्यक थप जग्गा उपलब्ध गराउन महानगर हरपल तयार रहेको प्रष्ट पार्नुभयो । प्रमुख पराजुलीले प्रदेशसभाकै स्थायी संरचना निर्माण गर्न पनि महानगरले यसअघि नै प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने विषयमा निर्णय गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि सहित विभिन्न तह र तप्काका सर्वसाधारणको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्