पूर्वराजाको ५०औं वैवाहिक वर्षगाँठ


ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल विवाह बन्धनमा बाँधिएको ५०औं वर्षगाँठको अवसरमा ललितपुरको एक होटलमा रात्रिभोजको आयोजना गरिएको छ। धोबीघाटस्थित चौधरी ग्रुपको स्वामित्वमा रहेको होटल भिभान्तमा रात्रिभोज आयोजना गरिएको थियो।

आफ्नै स्वामित्वमा रहेको होटल सोल्टीमा कार्यक्रम आयोजना नगरी भिभान्तमा आयोजना गरिएको रात्रिभोजमा शाही नातेदारको बाक्लो जमघट रहेको थियो। ज्ञानेन्द्रको अधिकांश कार्यक्रम यसअघि होटल सोल्टीमै हुने गरेको थियो। छुट्टाछुट्टै बस्दै आएका पूर्वयुवराज पारस र हिमानीसमेत एउटै कार्यक्रममा सहभागी भएका थिए।

लामो समयपछि पारस र हिमानी एउटै कार्यक्रममा भेट भएको हो। पारस धापासीस्थित कुण्डलिनी क्लबमा बस्दै आउनुभएको छ भने हिमानी निर्मल निवासमा बस्दै आउनुभएको छ।

रात्रिभोजमा निजी सचिव सागर तिमल्सिनालगायत कुनै पनि कर्मचारीलाई बोलाइएको थिएन। नितान्त व्यक्तिगत कार्यक्रम भएकाले अन्य कोही कर्मचारीलाई नबोलाइएको स्रोतले दाबी गरेको छ। उच्चशिक्षा अध्ययनको सिलसिलामा थाइल्यान्ड बस्दै आएकी दुई छोरी कीर्तिका र पूर्णिकाको साथमा थाइल्यान्डमै बस्दै आउनुभएकी पूर्वयुवराज्ञी हिमानी शाह सासू र ससुराको विवाहको ५०आंै वर्षगाँठ मनाउन केही दिनअघि मात्र नेपाल फर्कनुभएको थियो।

लामो समयदेखि हिमानी थाइल्यान्डमै बस्दै आउनुभएको छ। रात्रि भोजमा पूर्वयुवराज पारस राति करिब ७ बजे कार्यक्रम स्थलमा प्रवेश गर्नुभएको थियो। ठीक त्यति नै बेला हिमानी शाह छोरा हृदयेन्द्र र दुई छोरीको साथमा कार्यक्रम स्थल पुग्नुभएको थियो।

रात्रिभोजमा आफ्ना बालसखा प्रभु शमशेरको परिवार, पूर्वसैनिक सचिव शान्तबहादुर मल्लका परिवार र नातेदारहरूको मात्र उपस्थिति रहेको थियो। राति ११ बजेसम्म चलेको रात्रिभोजमा पूर्वराजपरिवारका २ सय जतिको संख्यामा उपस्थित रहेको थियो। पारिवारिक जमघट भएकाले अन्य कोहीलाई निम्ता नदिइएको स्रोतको दाबी छ।

कार्यक्रमको शुरूमा विवाह उत्सव मनाउन उपस्थित पूर्वराजा र रानीलाई सबै आफन्तले बुके र विभिन्न उपहारका प्रदान गरेका थिए। त्यसपछि रात्रिभोज शुरू भएको थियो। बुढ्यौलीको कारण छोराको विवाहको ५०आंै वर्षगाँठमा आमा रत्न पुग्नुभएको थिएन।

उहाँसँग आशीर्वाद लिन छोरा ज्ञानेन्द्र र बुहारी कोमल नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल पुग्नुभएको थियो। आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वराजा दिनहुँजसो महेन्द्र मञ्जिल पुग्ने गर्नुभएको छ।