आश्वासनको पोको ः विपक्षी


नेपाल समाचारपत्र
काठमाडौं
सरकारले रहेक वर्ष नयाँ कार्यक्रम र नीति घोषणा गर्दै आएको छ। सरकारले वार्षिकरूपमा घोषणा गर्ने नीति र कार्यक्रमले नागरिकमा आशा नजगाएको पनि होइन। तर सरकारको परम्परागत कार्यशैलीमा परिवर्तन नआउँदा विकास बजेट अपेक्षाकृतरूपमा खर्च हुन सकेको छैन।

आर्थिक वर्ष सकिन लाग्दासमेत विकास बजेट खर्चको अनुपात सन्तोषजनक बन्न सकिरहेको छैन। नेकपा नेतृत्वको दुई तिहाइ बहुमत प्राप्त सरकारले दोस्रोपटक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

विगतमा भनिँदै आएका विषयहरू नै नीति कार्यक्रममा समावेश गरिएको छ। सरकारले अगाडि सारेको नीति र कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुँदै आएको छ। घोषणामा जति उत्साह छ व्यवहारमा भने लागू भएको पाइँदैन। सरकारले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थकता दिनका लागि मानसिकता नै परिवर्तन गर्नुपर्ने देखिन्छ। सरकारसँग बजेट नहुनु अर्कै कुरा हो। तर बजेट भएर पनि खर्च गर्ने इच्छाशक्ति नदेखाउनु सरकारको विफलता हो। सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस अघिअगाडि सारिएका मुद्दाहरूले बढी निरन्तता पाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राजनीतिक दलहरूले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नआएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासन मात्रै भएको प्रतिक्रिया दिनुभयो। पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको दाबी गर्नुभयो। ‘केही पनि नयाँ कुरा छैन, नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक पाइएन।’ –सभापति देउवाले भन्नुभयो।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँपन आउन नसकेको बताउनुभयो।

नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिँदै उहाँले बारीका पाटा र गह्रा सबै हराभरा भएको र लय मिलेका शब्दहरू सुन्दर रहेको बताउनुभयो।

संसद् परिसरमा प्रतिक्रिया दिँदै भट्टराईले सुशासन, समृद्धिमा तीव्र फड्को मार्ने अपेक्षा गरिए पनि कसरी गर्ने भन्ने नयाँपन नआएको टिप्पणी गर्नुभयो। ‘कर्मचारीलाई कसम खुवाउने भन्ने मात्रै कुरा हाँसोलाग्दो भएको बताउँदै भन्नुभयो– ‘भ्रष्टाचारलाई पूर्णरूपले नरोकेसम्म राजस्व अभिवृद्धि गर्न र विकासलाई अघि बढाउन सकिन्न।’

सरकारले ल्याएको नीति कार्यक्रम कोरा कल्पना र सपनाको पुलिन्दा भएको टिप्पणी गर्दै सुन्दा रमाइलो र आसलाग्दो लागे पनि यसको परिणाम सुखद नहुने तर्क गर्नुभयो।

राष्ट्रिय जनता पार्टीले पनि नीति तथा कार्यक्रमलाई परम्पराको निरन्तरता भएको बताएको छ। राजपाका अध्यक्षमण्डलका सदस्य एवं सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम परम्परावादी भएको प्रतिक्रया दिनुभयो। उहाँले भन्नुभयो– ‘नीति तथा कार्यक्रममा लचकदार शब्द राखिएको छ, फूलबुट्टा भरिएको छ, अहिलेसम्मकै लामो नीति तथा कार्यक्रम आएको छ, यसबाट धेरै आशा गर्ने ठाउँ छैन।’