अब अस्पतालको ३०० फिट वरिपरी चुरोट सुर्ती विक्री बन्द

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
वर्षेनी करीव ३० हजार व्यक्तिको मृत्युको मुख्य कारण रहेको सुर्ती र सुर्तीजन्य पदार्थ अब कुनै पनि अस्पतालको एकसय मिटर अर्थात ३०० फिट वरिपरी विक्री वितरण र उपभोग गर्न नपाइने भएको छ ।

नेपाल प्रहरीको पहलमा काठमाडौं महानगरपालिका र सम्वन्धित अस्पताल प्रशासनको सकृयतामा यसै महिनादेखि यो नियम कडाईका साथ लागु गर्ने विषयमा शुक्रबार ती तिनै पक्ष सम्मिलित वैठकले प्रतिवद्धता व्यक्त गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजनामा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण सम्वन्धि विशेष अभियान २०७६ को लागि आयोजित वृहत छलफल कार्यक्रममा तीनैवटा निकायका प्रमुखहरुले पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्र पर्ने १० वटा सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने सामुहिक प्रतिवद्धता व्यक्त गरेको हो ।

पहिलो चरणमा काठमाडौंका निजामित कर्मचारी (सिभिल) अस्पताल मिनभवन, वीर अस्पताल महावौद्ध, त्रिविवि शिक्षका अस्पताल महाराजगञ्ज, कान्ति वाल अस्पताल महाराजगञ्ज, प्रहरी अस्पताल महाराजगञ्ज, सैनिक अस्पताल छाउनी, प्रसुती गृह थापाथली , शुक्रराज ट्रपिकल अस्पताल टेकु, आयुर्वेद अस्पताल नरदेवी, शहिद गंगालाल हृदय केन्द्र बाँसबारी र तिलगंगा आँखा अस्पताल तिलगंगाको एकसय मिटर वरिपरी सुर्तीजन्य पदार्थको विक्री र उपभोगमा वन्देज लगाइने छ ।

१५ दिनसम्म ति १० वटै अस्पतालको ३ सयफिट वरिपरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र १६ औं दिनदेखि ती निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ विक्री तथा उपभोग गरेमा कडाईका साथ जरिवना सहित कारवाही गरिने नेपाल प्रहरी, महानगरपालिका र सम्वन्धित अस्पताल प्रशासनले जनाएको छ ।

अभियान सफल पार्नका लागि शुक्रबार आयोजित छलफल कार्यक्रममा १० वटै सरकारी अस्पतालका प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, काठमाण्डौ महानगरपालिका जनस्वास्थ्य विभाग, काठमाण्डौ प्रहरी परिसर, सम्वन्धित प्रहरी वृत्त प्रमुख, सम्वन्धित वडाका अध्यक्ष, प्रहरी वडा समन्वय समितिका पदाधिकारीहरु समेत सहभागी थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष सकृयतामा शुरु गर्न लागिएको यो अभियानलाई क्रमशः महानगरका अन्य नीजि अस्पताल, विद्यालय, कलेज र सार्वजनिक ठाउँमा क्रमशः लागु गरिने परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) बसन्तकुमार लामाले बताए ।
नेपाल प्रहरीले सामुदायीक साझेदारी कार्यक्रम अन्र्तगत सञ्चालन गरेका सबै कार्यक्रम सफल हुँदै गएको उल्लेख गर्दै एसएसपि लामाले अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरण र उपभोग नियन्त्रण गर्ने कार्य पनि जनसहभागितामा सफल हुने प्रष्ट पारे ।

चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने प्रहरीको काम नभएतापनि जनताको शान्ति सुरक्षा मात्रै नभई उनीहरुको स्वास्थय सुदृढ राख्नु पनि प्रहरीको जिम्मेवारी भएकोले प्रहरीले यो अभियान शुरु गर्न लागेको पनि लामाले बताए ।

काठमाडौं परिसरका सामुदायीक प्रहरी शाखा प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) राजेन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अन्र्तगत रहेर अस्पताल, विद्यालय, सार्वजनिक स्थल लगायतका क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरण र उपभोगमा रोक लगाउन लागिएको प्रष्ट पारे ।

सार्क अन्कोलोजी फेडरेशनका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले नेपाल अर्वुद्धरोग निवारण संस्थाले यसअघि नै सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउनुपर्छ भनेर सामुहिक हस्ताक्षर अभियान सञ्चालन गरि सो हस्ताक्षर सरकारलाई बुझाइएकोमा त्यसको कतै सुनुवाई नभएको गुनासो गरे ।

जिल्ला प्रशासान कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री तथा उपभोग गर्ने दु्वैथरीलाई ठाउँको ठाउँ जरिवना सहित कारवाही गरे यो अभियान सफल हुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव महेन्द्र प्रसाद श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रका प्रमुख डा.भक्त केसी, वीर अस्पतालका निर्देशक डा.केदार सेञ्चुरी, वीर अस्पतालका प्राध्यापक डा.विष्णु पौडेल, जिल्ला समन्वय समित काठमाडौंका प्रमुख, शिवसुन्दर राज वैद्यलगायतका वक्ताहरुले काठमाण्डौ प्रहरी परिसरको अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री तथा उपभोगा नियन्त्रण गर्ने अभियानको प्रशंसा गर्दै आफुहरुले सो कार्यमा सघाउने बताए ।