राष्ट्रपतिको सम्बोधनः आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने, थप ३००० मेगावाट विद्युत उत्पादन गरिने


नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताउनुभएको छ । शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

यस्तै सम्बोधनकै क्रममा उहाँले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो ‘जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएकोछ । जनताको हरेक पीडामा सरकारले साथ दिएको छ । सरकारले विकासको मूल नारालाई अगाडि बढाएको छ ।’

चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गर्नुभयो ।

सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख आद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उहाँको दाबी छ।

सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।

यस्तै उहाँले आफ्नै स्याटेलाईटको प्रयोग गर्दै सुचना प्रवाहलाई चुस्त बनाइनेपनि बताउनुभएको छ ।
यस्तै हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै,उहाँले भन्नुभयो, ‘जनताको हरेक सुखदुःखमा सरकार सधै छ ।’

यस्तै उहाँले आगामी आर्थिक वर्षमा थप ३००० मेगावाट विद्युत् उत्पादन गरिने पनि बताउनुभएको छ ।