काठमाण्डौसहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना, सजग रहन मौसमविद्को आग्रह


काठमाण्डौ, काठमाण्डौसहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसकै प्रभावले अहिले भैरहवा, चितवनलगायतका ठाउँमा अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना रहेको छ ।

यस्तै बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको प्रभाव विस्तारै बढ्दै जानेछ ।

यो चक्रवात नेपालमा नआउने भए पनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् ।

पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ । फानीको प्रभाव पर्सी दिउँसोसम्म नै पर्ने देखिएको छ ।