उपत्यकालाई कालो बादलले ढाक्यो, हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना

0
Shares

काठमाडौं । काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविदहरूले जनाएका छन ।

भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको छ । यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ ।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात नेपालमा नआउने भएपनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् ।