दाङमा खतरनाक हावाहुरी र पानीले लाखौको क्षतिःछानो उड्यो, घर भत्कियो

0
Shares

दाङ । हावाहुरीसँगै परेको पानीले दाङमा निकै क्षति पुर्‍याएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ। लगभग एक लाख बराबरको क्षति भएको छ ।

स्थानीय गीता शार्कीको कच्चि घर भत्किएको छ । जसबाट १ लाख ७५ हजार बराबरको क्षति भएको छ । चन्द्रकला बि.सी. को कच्चि घर भत्किएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ । गुरुङखोला बस्ने बिष्णुबहादुर बुढाको घर भत्किएको छ । जसबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ । भित्ता भत्किदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । कटबेरवा निवासी बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ । २५ हजार बराबरको क्षति भएको छ ।

लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको छ । घरमा पानी पस्दा गहुँ ७ कुन्टल, ३ कुन्टल तोरी, डेढ कुन्टल मसुरो र धान पाँच कुन्टल भिजेर क्षति भएको छ ।

मटेरिया बस्ने झुमलाल कवरको भान्सा घर भत्किएको छ । जसबाट ५० हजार बराबरको क्षति भएको छ । प्रतापपुर निवासी हरी प्रसाद चौधरीको मिटर बक्समा चट्याङ पर्दा १५ हजार बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङलेजानकारी दिएको छ ।