बर्डफ्लुका कारण एक युवाको मृत्यु, कुखुरा ब्यवसायी अतंकित

14
Shares

भगवती तिमिल्सिना, काठमाडौं । पंक्षीमा लाग्ने बर्डफ्लुको संक्रमणबाट एक युवाकोे मृत्यु भएको सरकारले पुष्टी गरेको छ । सरकारले उक्त घटनालाई लुकाउने प्रयास गरेपनि बिदेशी संचार माध्यमले उक्त घटना सार्वजनिक गरेपछि सरकारले बिहीबार उक्त घटना सार्वजनिक गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी काभ्रेका २१ बर्षिय युवाको बर्डफ्लुको संक्रमणको कारण मृत्यु भएको जनाएको छ । ती ब्यक्तिको परिचयभ ने गोप्य राखिएको छ । बर्डफ्लुका कारण कुखुरा, काग, परेवा लगायतका पन्छी मर्न थालेको भन्दै सरकारले सर्तक रहन जनतालाई सजक गराएपनि बर्डफ्लुको कारण मानिसको मृत्यु भएको खवरलाई भने गोप्य राखेको थियो । ती युवाको एक महिना अघि नै मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनचेतना तथा सचेत गराउनुपर्ने अवस्थामा जनतालाई भ्रममा राखेर कुखुराको मासु खाँदा बर्डफ्लु सर्दैन र मानिसको मृत्यु नहुने दावी गर्दै आएको थियो ।

बिदेशी संचार माध्यमले उक्त घटना महत्वका साथ सार्वजनिक गरेपछि सरकारले उक्त घटनालाई सामान्य रुपमा सार्वजनिक गरेको थियो । मृत्यु भएका ती युवकको संकलित र्याल नमूना नेपालमा परीक्षण हुन नसकेपछि विश्व स्वास्थ्य संगठनकै नेतृत्वमा जापान लगेर परीक्षण गर्दा गत महिना चैत १७ गते नै उक्त रिपोर्ट आएको थियो । ती युवकको चैत १५ गते उपचारको क्रममा राजधानीको एउटा अस्पतालमा मृत्यु भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

बर्डफ्लुका कारण मानिसको मृत्यु भएको सूचना बाहिरिएसँगै कुखुरापालक कृषक, उद्योगी, व्यापारी , उपभोक्तामा भने संत्रास छाएको छ । यस बिषयमा सरकार भने एक महिना सम्म मौन बसेर विश्व स्वास्थ्य संगठनको दबाब पछि मात्र जनताप्रति उत्तरदायी भएको दावी गरिएको ।

बर्डफ्लु विश्वमा पहिलो पटक सन् १९९६ मा हङकङ फ्लुका नामले चिनिएको थियो । सोही फ्लुका कारण धेरै मानिसको मृत्यु भएको थियो । यस अघि थाईल्याण्ड, जापान, पाकिस्तान लगायतका मुलुकमा बर्डफ्लुका कारण मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा भने यो घटना रेकर्ड भएको पहिलो भए पनि नेपालमा परीक्षण विधि नभएका कारण घटना नै पहिलो हो भन्न सक्ने अवस्था नरहेको फ्लू विज्ञहरुले दावी गरेका छन । जनचेतनाका लागि नेपालमा कुकुरा पालक कृषक, उपभोक्ता, मासु पसले लगायत आम जनमानसमा सुसुचित गर्ने दायित्व सरकारको भएपनि जनताप्रति सरकार उत्तरदायी नहुँदा एक युवाको ज्यान गएको भन्दै बिज्ञहरुले सरकारको आलोचना गरेका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्डफ्लु मानिसबाट मानिसमा सरेको रेकर्ड भने अहिले सम्म फेला परेको छैन । तर बर्डफ्लु लागेका मानिस ६० देखि सत प्रतिशत नै मृत्युको मुखमा पुग्ने गरेको घटना डरलाग्दो रहेको छ ।
मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले नेपालमा बर्डफ्लूबाट मृत्यु भएको पुष्टि भएको यो नै पहिलो घटना भएको बताउनुभयो ।

डा.चौधरीका अनुसार मृतक युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि सरकारी अस्पताल भर्ना भएका थिए । उनको संकलित नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । एक सातापछि रिपोर्ट आउँदा युवाको मृत्यु भैसकेको थियो यो हामी सबैका लागि दुर्भाग्य हो ।

सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८ सय ६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ ।

मानिसमा यो भाइरसको संक्रमण हुँदा ८ सय ६० मध्ये ४ सय ५४ जना बिरामीको मृत्यु भएको तथ्यांकले देखाएको छ । यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोक्ने बिज्ञहरुले बताएका छन ।