डकैती मुद्दाका आरोपीसँग ‘साँठगाँठ’ गर्ने डीएसपीको जागिर चट् !

0
Shares

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बन गरेको छ ।

डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत छन् ।

ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन गरिरहेको छ । गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डीएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो ।

श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेस्टुरेन्टमा भेट भएको समेत अनुसन्धानका क्रममा खुलेको थियो । उनीहरू भेट भेटेकै दिन शेरचन्दको घरमा डकैती घटना भएको हो । प्रहरी हिरासतमा रहेका श्रेष्ठले डीएसपी ढुंगेलसँगको भेटघाट भएको स्वीकारेका छन् ।

९८५११५५१८४ नम्बरको मोबाइलबाट श्रेष्ठले डीएसपी ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बेर २३ मिनेटमा र २८ गते अपराह्न तीन बजेर पाँच मिनेटमा संवाद भएको कलडिटेलले देखाएको हो । श्रेष्ठको ९८५११५५१८४ मोबाइलबाट डिएसपी ढुंगलेको ९८०८२३७०८२ मोबाइलमा चैत २८ गते बिहान १० बजेर ३७ मिनेटमा र चैत २९ गते अपराह्न १२ बजेर ४७ मिनेटमा फोनमा कुराकानी भएको कलडिटेलमा देखिएको छ ।

श्रेष्ठले ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए । श्रेष्ठले प्रहरी बयानमा भने जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको दाबी गरेका छन् । चैत १३ मा पठाएको सन्देशमा उल्लेख थियो, ‘दाई दीपेश ९८५१२४८५१८’ । ढुंगेलले सन्देश हेरे पनि फर्काएका छैनन् ।

श्रेष्ठले उल्लेख गरेका दीपेश भनिने सन्तबहादुर तामाङ हुन् । तामाङ अहिले डकैत घटनामै पक्राउ परेका छन् । तामाङ ट्याक्सी चालक हुन् । पक्राउ परेका अर्का अभियुक्त नवराज तामाङ पनि ट्याक्सी चालक हुन् ।

शेरचन्दको घरमा डकैत गर्ने योजना नवराज, दीपेश र सन्तोषले बनाएका हुन् । लुटपाटको योजनालाई मूर्तरुप दिन श्रेष्ठसम्म प्रस्ताव गर्ने व्यक्ति भने दीपेश रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चैत २६ डकैत घटना हुन्छ । २७ गते डकैतीका योजनाकार मध्येका श्रेष्ठसँग ढुंगेलको फोन संवाद भएको कलडिटेलबाट देखिन्छ । प्रहरीले पक्राउ गर्नुपर्ने अभियुक्त र बहालवाला डीएसपीबीच फोन सम्वाद देखिएपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत आश्चर्यचकित बनेका थिए ।

डीएसपी ढुंगेलले भने आफूले श्रेष्ठलाई चिनजान भएको नाताले फोन गरेको बताए । मातातीर्थ बस्ने श्रेष्ठलाई सतुंगलमा हस्पिटल कहाँ छ भनेर सोधेको ढुंगेलले बताएका थिए ।