जनबादी विवाहको झल्को, सिन्दुरबिनै भयो आदर्श विवाह


हेटौंडा, (नेस) ।
विवाह भन्नेबित्तिकै हामी बाजागाजा, भोजभतेर, जन्तीको लावालस्कर अनि दाइजोका रुपमा दिइने नगद र सुनचाँदी जस्ता कुरा सम्झने गर्दछौं । समाजमा नेपाली विवाह महंगिएको अवस्थामा हेटौंडामा बुधबार कम्युनिष्टको ‘जनबादी विवाह’ को झल्को दिने गरी एक जोडीले आदर्श विवाह गरेका छन् ।

पूर्वएमाले कार्यकर्ताले जनबादी विवाह गरेका हुन् । जनबादी विवाहकै झल्को दिने गरी हेटौंडा–२ की रुपा बिडारी र शिशिर पराजुलीले आदर्श विवाह गरेका हुन् ।

वर्षौंदेखि कम्युनिष्ट पार्टीमा लागेका युवायुवतीले जनबादी विवाह गर्ने चलन थियो । जनबादी विवाह सबभन्दा धेरै पूर्वमाओबादी पार्टीका नेता/कार्यकर्ता भूमिगत हुँदा गरेका थिए । साधारण तरिकाले आदर्श विवाह गर्दै आएका कम्युनिष्ट नेता/कार्यकर्ता एकले अर्कोसँग कसले विवाहमा बढी खर्च गर्ने, भोजखतेर गर्ने होडबाजी चलिरहेको बेला हेटौंडामा जनबादी विवाहको रुप देखिएको छ ।

कम्युनिष्ट पार्टीभित्र दाइजो लिनुदिनु हुन्न भन्ने, विवाहमा थोरै खर्च गर्नुपर्छ भन्ने, तर कार्यान्वयन आफैंबाट नगर्ने चलन छ । तर, रुपा र शिशिरले दाइजोका रुपमा सामान दिने र विवाह गर्ने केटाले गहनैगहनाले बेहुलीलाई छपक्कै बनाउने परिपाटीलाई चुनौती दिनुभएको छ ।

उहाँहरुको विवाह गराउन त जग्गे थियो न त दुलहीलाई सिन्दुर लगाइयो । उहाँहरुले व्राह्मण र सिन्दुरबिना आदर्श विवाह गर्नुभएको छ । विवाहमा शुभकामना दिन कम्युनिष्ट नेता/कार्यकर्ता, मकवानपुर र प्रदेश–३ का जनप्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।

विवाहमा लाखौं खर्च गरेर भोजभतेर, गरगहना र दाइजो दिने प्रथा अन्त्यका लागि यस्तो विवाहले पाठ सिकाएको नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । आदर्श विवाहको कार्यक्रमको सभाध्यक्षता सिग्देलले पार्टीका तर्फबाट गर्नुभएको थियो ।

विवाहोत्सव कार्यक्रमकी प्रमुख अतिथि नेकपा केन्द्रीय नेता अष्टलक्ष्मी शाक्यले समाज रुपान्तरणका लागि आदर्श विवाह आवश्यक रहेको बताउनुभयो । उहाँले पहिलेको जनबादी विवाहबारे चर्चा पनि गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा मकवानपुर–२ का सांसद् विरोध खतिवडा, राष्ट्रियसभा सांसद् रामनारायण बिडारी, नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगर उप्रमुख मीना लामा, नेकपाका जिल्लास्तरीय नेता/कार्यकर्ताको उपस्थिति थियो ।