दिवसले छोएन बास्तविक मदजुरलाई, पिठ्यौंमा भारी बोकेरै बित्यो आधा जिवन


धनवीर दाहाल,रुकुम ।
मुसिकोट नगरपालिका ५ सेरीगाँउका ५९ बर्षका हरिबहादुर देवकोटाको आधा जिवन पिठ्यौंमा भारी बोकेरै बित्यो । हरिबहादुर हरेक दिन बिहान उठ्न बित्तिकै कामको खोजीमा निस्कनुहुन्छ । दिनभर पिठ्यौंमा भारी बोकेर उहाँको गुजारा चलिरहेको छ । बिभिन्न सभा समारोह गरेर मजदुर दिवस मनाइरहँदा हरिबहादुरलाई दिवसबारे कुनै थाहा छैन ।

उहाँले भन्नुभयो “मलाई दिनभर काम खोज्ने मात्र चिन्ता हुन्छ । यो दिवसबारे मलाई थाहा छैन ।” उहाँ त एक प्रतिनिधि पात्र हो । हरिबहादुर जस्ता ग्रामिण स्तरमा दिनभर काम गरेर खान नपुग्नेहरुलाई यो दिवसले छुन सकेको छैन ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग सहित सुरु भएको मदजुर आन्दोलन सफल भएको सम्झनामा मनाइने दिवस भएपनि हरेक दिन काम नगरी खान नपुग्नेका लागी भने दिवसले छोएको छैन् । बुधबार मजदुर दिवसको दिन सरकारले बिदा दियो तर काम नगरी छाकको जोहो गर्न नसक्नेलाई बिदाको कुनै महत्व नभएको स्थानीयको भनाई छ ।
दिनभर चर्काे घाममा पसिना बगाएर काम गरिरहेका मजदुरका लागी यो दिवसले न कुनै हौसला दिएको छ न त आत्मबिश्वास ।

बिभिन्न जुलुश तथा सभाहरु गरि मनाउनु भन्दा ग्रामिण स्तरमा रहेका बास्तबिक मजदुरका समस्या हल गर्न तर्फ सरोकारावाला निकाय लाग्नु पर्नेमा स्थानीयले जोड दिएका छन् ।