बिना भेदभाव समान कामका लागि समान ज्याला: राष्ट्रियसभा अध्यक्ष

0
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको शुभकामना दिएका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको सिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो ।

सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।

श्रम कुनै वस्तु वा बिक्री वितरणको साधन होइन भन्ने मूल मान्यताका साथ अघि बढेको मजदुरहरुको आन्दोलनले विभिन्न आरोहअवरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्र्नुपर्ने बताएका छन् ।