सहमति भएपछि फोहोर व्यवस्थापन शुरु

0
Shares

काठमाडौं,(नेस) । अन्धकारमा बस्दै आएका कागती गाउका स्थानीयवासीलाई एकसाताभित्र १ सय केभीको ट्रान्समिटर राख्ने र सिसडोल ल्याण्डफिल साइटले प्रयोग गरेको स्थानीयको करिब ४२ रोपनी जग्गाको विषयमा तत्काल निर्णय गर्न छानविन समिति गठन गर्ने सहमति भएपछि सोमबारदेखि रोकिएको फोहोर व्यवस्थापन मंगलबारबाट सुचारु भएको छ ।

५० केभीएको ट्रान्समिटर परिवर्तन गरी १ सय केभिएको ट्रान्सफर्मर राख्ने पहिलो सहमति भएको थियो । लगातार ट्रान्समिटर बिग्रेका कारण एक सातादेखि कागतीगाउ अन्धकारमय अवस्थामा छ ।

काठमाडौ महानरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले १ सय केभीएको ट्रान्समिटर राखिदिने बचन दिएको छ । जग्गाको विषयमा परामर्शदाता डा.सुमित्रा अमात्यको संयोजकत्वमा समिति बनाउने निर्णय भएपछि राजधानी लगायत १८ स्थानीय निकायको फोहोर मंगलबारदेखि सिसडोलमा व्यवस्थापन हुन थालेको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठले बताउनुभयो ।

उहाका अनुसार एक साताभित्र ट्रान्समिटर परिवर्तन गर्न र १५ दिन भित्र स्थानीयको जग्गा कामपाले भाडामा लिने विषयमा निर्णय हुने र सोही निर्णयको आधारमा फोहोर व्यवस्थापन सुचारु गर्ने निर्णय भएको हो ।
सहमति भएपछि मंगलबार बिहानदेखि ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन सुचारु भएको ककनी गाउपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ वलामीले जानकारी दिनुभयो ।

आन्दोलनको नेतृत्व गरिरहनुभएका वडा अध्यक्ष वलामीले माग पुरा नभए पुन आन्दोलन हुनसक्ने चेतावनी दिनुभयो ।स्थानीयले ट्रान्समिटर फेर्नुपर्ने र जग्गाको विषयामा तत्काल निर्णय गर्नुपर्ने माग गर्दै दर्जनौं पटक कामपालाई दवाव दिदै आएको थियो ।