भेनिसमा घन्कियो राष्ट्रगान

0
Shares

टीका बन्धन, इटाली
इटालीको ऐतिहास शहर भेनिसमा आइतबार साँझ राष्ट्रगान राम्रैसँग घन्कियो । राष्ट्रगान मात्रै होइन अहिलेका लोकप्रिय लोकदेखि चल्तीमा रहेका अन्य गीत संगीतमा धेरै नेपाली राती अवेरसम्म नाचगानमा व्यस्त रहे ।

भर्र्खरका बच्चादेखि उमेर ढल्किएकाहरु आफ्ना रोजाइका गीतमा रम्न पाउँदा परदेशमा होइन आफ्नै देशमा रहेको महसुस गरे । भेनिसको मेस्त्रेमा अपराह्न ४ बजेबाट शुरु भएको नाचगान राती १० बजेसम्म जारी रह्यो । सन्दर्भ थियो, नेपाली नयाँ वर्षको ।

नेपाल एसोसिएसन इटाली भेनिसको पहलमा यहाँका मेस्त्रे, मुजुले दिप्याबे, पादोबालगायत शहरका नेपाली एकै ठाउँ भेला भएर शुभकामना आदान प्रदान गरे । एसोसिएसन सन् २००४ मा गठन भएको र त्यसयता नयाँ वर्ष, अन्य नेपाली चाडपर्वको अवसरमा विविध कार्यक्रम हुँदै आएको संस्थाका अध्यक्ष राजन चापागाईंले जानकारी दिनुभयो ।

नयाँ पुस्तामाझ नेपालको संस्कार र संस्कृति आदानप्रदान गर्न यस्तो जमघट महत्वर्पूण बन्ने उहाँको भनाइ छ ।

‘नेपालको जस्तै एउटै तिथिमितिमा जमघट हुन सम्भव हुँदैन, आसपासको समय मिलाएर हामी जुट्ने गरेका छौ, सुख दुःख बाँड्ने गरेका छौ’ –उहाँले भन्नुभयो ।
मिलानो, रोम, भेनिस, नापोली, तुरिनो, वोलोनिया, फ्लोरेन्स, ब्रसिया, भेरोना, पिशा, पारमा इटालीका मुख्य शहर हुन् । तीमध्ये रोम, मिलान, पारमा, पिशा, भेनिसजस्ता शहरमा नेपाली बसोबास गर्दै आएका छन् । इटालीमा सन् २०००यता नेपाली भित्रिने क्रम शुरु भएको र हाल करिव २ हजार नेपाली यहाँ रहेका चापागाईंले बताउनुभयो ।

मेस्त्रेमा बसोबास गर्दै आउनुभएका देवराज थापाका अनुसार २०१०÷२०१२ मा यहाँ करिव ५ हजार नेपाली थिए । उहाँले कानुनी प्रक्रिया पूरा गर्दै स्वीजरल्यान्ड, जर्मनी, बेल्जियम, स्वीडेन जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । नेपालीलाई जमघट गराउन शहरअनुसार विभिन्न समाज गठन भएका छन् ।