धुलिखेलमा पुरातात्विक सम्पदा संरक्षण गरिँदै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिका भित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुका समष्टीगत संरक्षण तथा विकास गर्ने उदेश्यले धुलिखेलमा सरोकारवालाहरुसँग अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

साविकको धुलिखेल र विस्तारित धुलिखेल नगरपालिका भित्र रहेका ऐतिहासिक सम्पदा तथा पुरातात्विक क्षेत्रहरुको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले विभिन्न कार्यक्रम शुरु गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘धुलिखेललाई पहिलाकै धुलिखेलका रुपमा जोगाउन धुलिखेल फर्क अभियान शुरु गर्नु पर्छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नु भयो–‘तन, मन र धन लगाएर धुलिखेलका पुरातात्विक तथा मौलिक सम्पदाहरुको संरक्षण गर्न सकिन्छ ।’ नगरपालिका एक्लैले सम्पदाहरुको संरक्षण गर्न असम्भव भएकाले स्थानीयहरुले त्यसको संरक्षणमा साथ र सहयोग गर्नु पर्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।


धुलिखेल नगरपालिका भित्र १२ औं शताब्दीमा राजा आनन्देवले ‘नारायण समीपे धौखेल’ निर्माण गरेको वंशावलीमा उल्लेख छ । धुलिखेलको मुटुमा रहेको शेषनारायण प्राचीन तीर्थ हो भन्ने भनाई छ । वि.सं. १९२६ सालमा तीन तल्ले पेगोडा शैलीको सुनको मोलम्बा जडित छाना, गजुर भएको शेषनारायणको स्वरुप छ । सुनको मोलम्बा जडित तोरण, द्वार तथा विशाल गरुँड वि.सं. १९४४ सालमा स्थापना भएको थियो । धुलिखेलको नमुना स्मारक बनेको सो गरुड मुर्तिलाई नेपालकै सबभन्दा ठूलो धातु गरुँड मानिन्छ । ने.सं. ८९९ मा ढुंगे गरुँड निर्माण भएबाट प्राचीन स्वरुपको विशाल मन्दिर धुलिखेलमा थियो । धुलिखेलमा इतिहास बोकेका शेषनारायण, हरसिद्धि, स्वेत चैत्य, शिखलेश्वरी, विनायक, लंकोविनायकः वकुविनायक, सूर्यविनायक, म्हस्काद्यो, मनविनायक, महागौरी÷खड्गेश्वरी जस्ता थुप्रै ऐतिहासिक सम्पदाहरु धुलिखेलमा छन् । धुलिखेलमा नेवारी संस्कृतिका घरहरु पनि निर्माण भए पनि संरक्षणको अभाव रहेकोे सरोकारवालाहरुले बताएका छन् ।


अभिमुखिकरण गोष्ठीमा धुलिखेल भित्र रहेका शंखु ईटे, देविटार, रविओपी, काभ्रे, पातलेखेत, शारदा बतासे तथा धुलिखेल बजार भित्र रहेका नेवारी सम्पदा जोगाउन नयाँ निर्माण हुने घरहरुलाई पुरानै शैलीमा निर्माण गर्न अनुमति दिनु पर्ने बताएका थिए । अभिखुखिकरण कार्यक्रममा सम्पदाविद् अनिल चित्रकार, काठमाडौ विश्वविद्यालयका बुद्ध श्रेष्ठ, धुलिखेल नगरपालिकाकी इन्जिनियर स्मिता यगोल, संरक्षण नेपालका सचिव शुशिलकुमार ब्याञ्जु लगायतले सम्पदा जोगाउन स्थानीय सरकार, स्थानीयबासीहरु सक्रिय हुनु पर्ने बताएका थिए ।

सहभागिहरुले धुलिखेलको नेवारी सम्पदा जोगाउने किसिमका घरहरुलाई अनुमति नदिई सहानुभूति देखाउन नपर्ने घरहरुलाई अनुमति दिइएको, पुरातात्विक ठाउँहरु जोगाउन नियम कानुन नभएको, डीजाईनर, जग्गाधनी तथा प्राबिधिकलाई कुनै मार्गदर्शन नभएको, परम्परागत भबन निर्माण सम्बन्धि ज्ञान नभएको, आधुनिक भबनहरुले पुराना भबनहरुलाई छायाँमा पारेको बताएका थिए ।

सम्पदा जोगाउन चुनौतिहरु अप्ठ्यारा भए पनि बिस्तारै धुलिखेलले महत्वपुर्ण स्थान र विशेषताहरु गुमाउदै जाने भन्दै त्तकाल जोगाउन सुझाव दिईएको थियो । नेपाल र बिश्वका अन्य सहरहरुबाट सहरको सम्पदा र तिनीहरुको विशेषताको संरक्षणको लागि प्रेरणा लिँदै चुनौतीहरुलाई सम्बोधन गर्न भूमिका मालिकहरु र समुदायसंग काम गर्न सल्लाह दिईएको थियो । नगर प्रमुख ब्याञ्जुले समुदायसँग मिलेर सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।