काठमाडाैं । तराईका जिल्लामा आएको आँधिहुरीले ठूलो जनधनको क्षति भएपछि प्रदेश २ सरकारले राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको छ ।
प्रदेश सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेको जनाइएको छ ।
आईतबार राति आएको हावाहुरीका कारण बारा र पर्सामा गरी अहिलेसम्म ३५ जनाको मृत्यु भएको र सयौं नागरिक घाइते भएकोले प्रदेश दुईसँगै सिंगो राष्ट्र दुःखमा परेको परिस्थितिमा राष्ट्रिय शोक घोषणा गर्न मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई आग्रह गरेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । प्रधानमन्त्री ओलीले पनि मुख्यमन्त्रीलाई फोन गरेर घटनाका बारेमा दुःख व्यक्त गरेको उनले बताए ।
प्रदेश सरकारले उद्दार जारी राखेको जनाएको छ । साथै सहयोगका लागि सबैमा अपिल पनि गरेको छ । मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको मन्त्री यादवले बताए ।
आईतबार वर्षासँगै आएको हावाहुरीकारण ५०० भन्दा बढी मानिस घाइते छन् । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरूको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।











प्रतिक्रिया