उद्धार तथा राहतमा कुनै कसर बाँकी राखिएको छैन् : गृह

0
Shares

काठमाडाैं । हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा उद्धार तथा राहतको काम एकसाथ अघि बढेको गृह मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा हावाहुरी पीडितको उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको गृह मन्त्रालयले जनाएको छ ।

उद्धार तथा राहतका लागि स्थानीय सरकार परिचालित भइसकेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार गाउँपालिका तथा नगरपालिका अध्यक्ष, प्रदेश तहमा मुख्यमन्त्रीको संयोजकत्वमा र केन्द्रमा गृहमन्त्रालयको संयोजकत्वमा समितिहरु बनाइएका छन् । ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति छ ।’ प्रवक्ता सुवेदीले भने, ‘ती समितिहरुबाट आ–आफ्नो ढंगले राहत, उद्धारलगायतका काम भइरहेको छ ।’

गृह मन्त्रालयका अनुसार सडकमार्गबाट गए राति नै सशस्त्र प्रहरीको एपीएफका तीन वटा ठूला ट्रकमा राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ । राहतका लागि औषधि, खाद्यान्न, कपडा, भाँडाकुँडा लगायत पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, घाइते ल्याउनका लागि नेपाली सेनाको स्काइ ट्रकहरु हिजोदेखि बाराको सिमरामा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ भने घाइतेहरुको उपचारका लागि स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर काम गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइतेहरुको निःशुल्क उपचार गर्ने र आवश्यक रक्तदानका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्न निर्देशन समेत दिइसकेको छ ।