चिरञ्जीवी मास्के, काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो बर्षको गिरीजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार नेपाल समाचारपत्र दैनिकका संस्थापक एवं प्रधान सम्पादक बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ ।
पुरस्कृत पत्रकार श्रेष्ठ अस्वस्थ हुनुभएकोले एक लाख राशिको उक्त पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजाललाई प्रदान गर्नु भएको थियो । सो अवसरमा रिपोर्टर्स क्लबको तर्फबाट अध्यक्ष ऋषि धमलाले बरिष्ठ पत्रकार श्रेष्ठको शीघ्र स्वास्थ लाभको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रम उद्घाटन गर्नुहुदै प्रधानमन्त्री केपी ओलीले विगतका सरकार र राजनीतिक दलहरुले प्रजातान्त्रिक आन्दोलनको रक्षा गर्न नसकेकोले पटक पटक समस्या हुने गरेको उल्लेख गर्नुहुदै अहिलेको सरकारले संघीय गणतान्त्रिक आन्दोलनलाई संस्थागत गर्न सकेको बताउनु भयो ।
रिपोर्टर्स क्लबको २१ औ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले द्वन्द्व व्यवस्थापन, संविधान निर्माण र सामन्ति तन्त्रलाई पराजित गर्दै मुलुक नयाँ आत्म विश्वासका साथ नयाँ यात्रामा निस्कीएको बताउनु भयो । उहाँले अब सबै नेपाली मिलेर समृद्ध नेपाल, शुखी नेपाली बनाउने बेला आएको बताउनु भयो । प्रधानमन्त्री ओलीले यो काम नेपाली आफैले गर्ने भएपनि छिमेकी मुलुक र सहयोगी मुलुकहरुको साथ र सहयोग लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
नेपालीलेनै अपराधि बनाउनु दुःखद
कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रकृयाको महत्वपूर्ण सहयोद्धा नेपाली कांग्रेसको अमेरीकाको वासिङ्टन डिसिमा रहेको संगठनले निर्णय गरेरनै आफुलाई अपराधिको रुपमा प्रस्तुत गर्न खोजेको भन्ने सुनेको उल्लेख गर्नुहुदै त्यो कुरा दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा संगै रहनु भएका नेपाली कांग्रेसका नेता रामशरण महतलाई ध्यानाकर्षणको लागि आग्रह गर्दै नेकपा अध्यक्ष दहालले भन्नु भयो – नेपालमा शान्ति प्रकृया टुङ्गाउन नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गिय गिरीजाप्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको छ । मलाई अपराधिको रुपमा लान्छना लगाई रहदा कहि न कहि त्यसको भागेदारी स्वर्गिय गिरीजाप्रसाद कोईराला पनि बन्नु हुन्छ ।
आफु एउटा छुट्टै परिस्थितिमा अमेरीका जाँदा नेपालीलेनै त्यस्तो ब्यवहार गर्दा आफुलाई दुःख लागेको उल्लेख गर्नुहुदै बरु अमेरीकी सरकार र अमेरीकी जनताले सहयोग गरेको बताउनु भयो । अमेरीकाले कुनै अनुसन्धान नगर्नु भनि सुचना जारी नगरेको भए आफुलाई त्यहा जे सुकै हुनसक्ने अवस्था रहेको पनि दहालले सुनाउनु भयो । तर आफु त्यस्तो कार्यबाट डराएको या विचलित भने नभएको दहालको भनाई छ ।
आफुसंग कुनै गुनासा भए वा शान्ति प्रकृया र शसस्त्र द्वन्द्वको विषयमा कुनै आक्रोश या गुनासा भए नेपालमै बसेर छलफल गर्न सकिनेमा विदेशमा त्यस्तो व्यवहार गर्नु निन्दनिय रहेको दहालले बताउनु भयो ।
शान्ति प्रकृयालाई टुङ्गोमा पु¥याउनु र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल भै नेपाल कम्युनिष्ट पार्टीको एकमना सरकार निमाृण हुनु चुनौती पूर्ण कार्य रहेको उल्लेख गर्नुहुदै अध्यक्ष दहालले यो कार्यको लागि सबै नेपालीको साथ र सहयोग महत्वपूर्ण रहेको चर्चा गर्नु भयो ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँसकोटा, नेपाली कांग्रेसका नेता डा रामशरण महत, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, नेपालका लागि भारतिय राजदुत मनजीवसिंह पुरी, एनआरएका संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका प्रधान सम्पादक सुवास घिमिरे र बरिष्ठ पत्रकार हरिप्रसाद जोशी, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका सहायक बरिष्ठ उप सम्पादक राजेश मिश्र, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष महेश्वर दाहाल, सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली बसेल, रिपोर्टर्स क्लब उत्कृष्ठ युवा पत्रकारिता पुरस्कारबाट सन्तोष न्यौपाने र क्रियाशील युवा महिला पत्रकारिता पुरस्कारबाट पत्रकार उषाकिरण कँडेललाई पुरस्कृत गरिएको छ ।











प्रतिक्रिया