नेपाली कामदार लैजाने विषयमा नेपाल-जापानबीच आज समझदारी हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल र जापानबीच नेपाली कामदार लैजाने विषयमा आज समझदारी हुँदैछ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ ।

समझदारीमा नेपालबाट जापान कामदार लैजाने र जापानले उनीहरूलाई ‘स्पेसिफाइड भिसा’ दिने विषय उल्लेख हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

जापानले चैत १८ देखि नै कामदार लैजाने गरी समझदारीमा हस्ताक्षरको प्रस्ताव यसअघिका वार्तामा गरेको थियो। तर कामदार लैजाने प्रक्रिया लगायतका विषय भने अझै ठोस रूपमा टुंगो लाग्न भने बाँकी रहेको छ । आज बस्ने बैठकमा भने जापानमा नेपाली कामदार लैजाने विषयमा सबै पक्रियामा टुंगो लाग्ने बताइएको छ ।

जापानले गत पुसमा नेपालसहित ९ देशबाट १४ प्रकारका कामका लागि कामदार भित्र्याउने निर्णय गरेको थियो। जापानले कामदार लैजान लागेकामध्ये दक्षिण एसियाबाट नेपालमात्र हो।

आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्