सम्मेलनलाई लक्षित गरी बढाइयो सुरक्षा सतर्कता


नेपाल समाचारपत्र, काठमाडौं
लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ ।

सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुँदै छ ।

शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मेलनको सुरक्षाकालागि खटिने भएकाले केही दिनयता तीनवटै सुरक्षा निकायको समन्वयमा नियमित रुपमा सुरक्षाकर्मी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । ‘उपत्यकाको सुरक्षा अवस्था अहिले नर्मल छ, तर सम्मेलनलाई लक्षित गरी नियमित सुरक्षाकर्मी खटिएका छन्’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

सम्मेलनलाई लक्षित गरी २ हजार सुरक्षाकर्मी खटिने बताइएको छ । सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हाट्र्विङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायतका विशिष्ट पाहुना सहित विभिन्न मुलुकका लगानीकर्ता सहभागी हुने लगानी बोर्डले जनाएको छ । भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनाम लगायत जस्ता मुलुकबाट मुलुकका संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी हुने बताइएको छ ।

यसै वीच सरकारले सम्मेलनलाई लक्षित गरी आज सोमबार एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दैछ । सरकारले पूर्वाधार, कृषि, जलस्रोत, पर्यटन सहित विभिन्न ६४ आयोजनामा लगानी गर्नका लागि आह्वान गर्ने तयारी गरेको छ । बोर्डका अनुसार प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गोसाईंकुण्डसहित अन्य धार्मिक र पर्यटकीय क्षेत्रमा केबलकार निर्माण, कृषि फार्म स्थापना, उपत्यकामा मोनोरेल, काठमाडांै बाहिर विद्युतीय रेल लगायतका परियोजना प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।