वार्ताबाट समाधान निकाल्न कांग्रेसको आग्रह



काठमाडौं, (नेस)
नेपाली कांग्रेसले नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ ।

साथै, संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न भन्दै कांग्रेसले वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

केही समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमका बारे कांग्रेसको आधिकारिक धारणा राख्दै प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभएको छ– ‘दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मूल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिस्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ ।’

नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ भन्दै प्रवक्ता शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्नुपर्ने धारणा राखेको बताउनुभएको छ ।

यसअघि पनि कांग्रेस नेतृत्वले शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान निकालेको तथ्य रहेको स्मरण गराउँदै कांग्रेसले दुवै कम्युनिस्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्