नेपाली भाले हात्ती रिसाएपछि भारतमा बितण्डा, ५ जनाकोे मृत्यु, ९ घाइते


धरान । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका रैथाने हात्ती रिसाएर भारत परेपछि पाँच भारतीय नागरिकको मृत्यु भएको छ ।

फागुन २१ गते भारततर्फ लागेको हात्तीले आक्रमण गर्दा सुपौल जिल्ला क्षेत्रमा पाँच जनाको मृत्यु भएको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ । हात्तीको आक्रमणमा परी ९ जना घाइते भएका छन् ।

आरक्षका हात्तीले सुनसरी, सप्तरी र उदयपुरको आरक्ष क्षेत्र आसपास नियमित जनधनको क्षति गर्दै आएको थियो । ४० किलोमिटर दक्षिण भारततर्फ गएको हात्तीले तीन दिनमा पाँच जनाको ज्यान लिएको त्यहाँका अधिकारीले आरक्षलाई सूचना दिएको छ ।

हात्ती गएको क्षेत्रमा मानव बस्ती मात्र रहेकाले हात्तीले बढी क्षति गरेको जानकारी आएको कोशी टप्पु वन्य जन्तु आरक्षणका संरक्षण अधिकृत रामदेव चौधरीले बताए । ‘रेडियो मेसिन जडान गरेको एउटा हात्ती भारत गएको थियो तर आज आरक्षणमा आइपुगेको छ,’ उनले भने ।

सहायक वार्डेन तिवारीका अनुसार ३ दिनसम्म हात्ती भारत बसेको थियो । हात्तीमा रेडियोकोलार झुण्डाएकाले हात्ती कहाँ छ भन्ने लोकेशन थाहा हुने गर्छ । आरक्षणको तथ्यांक अनुसार हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०७४/०७५ मा ६ जनाको मृत्यु भएको थियो ।

हात्तीको आक्रमणबाट आर्थिक वर्ष ०७३/०७४ को अवधिमा पनि ६ जनाको मृत्यु भएको थियो । कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा घुम्ने सबै भाले हात्ती रहेका छन् ।