गुप्तचर सम्मको पहुँच नदिएकोमा बेलायतको निन्दा


न्युयोर्क (एजेन्सी)
रुसले आफना पुर्व जासुस सर्गेइ स्क्रिपल र उनकी छोरीसम्मको पहँुच उपलब्ध नगराएको विषयमा बेलायतको आलोचना गरेको छ ।

यसलाई अन्तराष्ट्र्यि सन्धिको उलंघन भएको बताएको छ । संयुक्त राष्ट्र्मा रुसका उप राजदुत दिमित्री पोलिन्स्किले सोमबार भियना सन्धि अन्तर्गत बेलायतको दायित्व सर्गेइ र उनकी छोरीसँगको सम्पर्कका लागि अनुमति दिनु पर्ने बताए ।

उनीहरु जीवित छन् वा छैनन् र उनीहरुलाई मस्कोको मद्दतको आवश्यकता छ वा छैन जानकारीका लागि पनि उनीहरुसम्मको पहँुच आवश्यक भएको उनले बताए । यदि यसतो नभएमा रुसी नागरिकलाई जबरजस्ती हिरासतमा राखेको वा अपहरण गरेकोमा बेलायतलाई जिम्मेवार ठहर्याइने उनले बताए ।

बेलायतको सेलिस्बेरीमा सन् २०१८ मार्चमा नर्भ एजेन्टका कारण स्क्रिपल र उनकी छोरीको स्वास्थ्य खराब भएको थियो र उनीहरु अस्पतालमा भर्ना गरिएका थिए ।

बेलायतले उक्त घटनाका लागि रुसलाई जिम्मेवार ठहर्याएका थिए । पोलिन्स्किले स्क्रिपल र उनकी छोरीलाई विषादी दिनुमा मस्कोको हात रहेको सम्बन्धमा आरोपलाई सही साबित गर्न प्रमाण उपलब्ध नगराएको कुरालाई लिएपनि बेलायतको निन्दा गरे । सेलिस्बेरीमा नर्भ एजेन्टबाट भएको हमला एक बर्ष पुरा भएको अवसरमा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

उक्त घटनापछि बेलायत र रुसबीच तनाव बढेको थियो । यसबीच बेलायत सरकारले स्क्रिपल र उनकी छोरीको स्वास्थ्य स्थितिका बारेमा सोधिएको प्रश्नको जवाफमा ब्यक्तिगत मामिलामा टिप्पणी गर्न नचाहेको बताएको छ । भियना सन्धिमा जेल वा हिरासतमा बन्दी वा नजरबन्दमा रहेकाहरु सम्म राजनितिक पहुँचको ब्यवस्था गरिएको तर स्क्रिपल र उनकी छोरी नजरबन्दमा नभएको उसले जनाएको छ ।