अमेरिकी सरकार विरुद्ध हुवावेको मुद्धा


सेन्जेन,( एजेन्सी )
सूचना प्रविधि एवं दूरसञ्चार सेवाका लागि विश्व प्रसिद्ध चिनियाँ कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजीको माग राख्दै विहिवार मुद्दा दायर गरेको छ ।

हुवावेले आफ्ना संचार समबन्धी उपकरण मार्फत चीन सरकारका लागि जासुसी गर्दै आएको आरोप लगाउँदै अमेरिकाले हुवावेद्वारा उत्पादित वस्तुहरुको खरिदमा प्रतिबन्ध लगाएको हो । हुवावेका सामानमाथि अमेरिका लगायत विश्वका अन्य धेरै देशमा पनि प्रतिबन्ध लगाइएको छ ।

हुवावेले अमेरिकाको टेक्सास राज्यको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको हो ।

उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको संकेत पनि दिएको छ ।

हुवावेका अध्यक्ष गुओ पिंगले बताएकाछन् , ‘ हुवावेका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने ठोस कारण र प्रमाण जुटाउन अमेरिकी कंग्रेस स्वयम पनि धेरैद्धोटि असफल भइसकेको छ । परिणम स्वरुप हामीले समस्या समाधानका लागि कानुनी उपचार नै उपयुक्त र अन्तिम प्रयत्न हुने निर्णय गर्न बाध्य भएका छौं । यदि बिद्यमान कानुनी अवरोध अन्त्य गरिने हो भने हाम्रो कमपनीले अमेरिकामा अझै समुन्नत प्रविधियुक्त सेवा विस्तार गर्दै उत्कृष्ट फाइभ–जी सञ्जाल निर्माणमा मद्दत गर्नेछ ।’

अहिले हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा यसले सामसुङ र एप्पल कम्पनीलाई समेत कडा चुनौती दिइरहेको छ ।