तीन वर्षको मेहेनत पछि घरमै पानी



गणेश विष्ट, भोजपुर ।
घर घरमा पानीको धारा वनेपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका स्थानियको दैनिकी फेरिएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा पानी पँधेरा पुग्नु पर्ने अवस्था भोगेका स्थानिय अहिले आगानको डिलमा पिउने पानी खस्न थालेपछि दंग छन् ।

प्रसस्त मात्रा पानीको सुविधा भएपछि उनिहरु अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा आफूलाई खानको लागि समेत तरकारी उत्पादन गर्न नसक्ने उनिहरुले अहिले तरकारी वचेर मनगै आम्दानी समेत गरिरहेका छन् ।

यसबाट वषौ देखि पानीको समस्या भोग्दै आएका स्थानिय अहिले निकै खुसी छन् । स्थानिय दान वहादुर खड्काले भने‘ विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुँवा, धारा धाउदैमा एक जनाको दिन वित्थ्यो तर अहिले घरमै पानी आउदा निकै खुसी लागेको छ, अहिले खेर गईरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरेका छौ ।’

तत्कालिन जिल्ला विकास समिति र सहरी विकास मन्त्रालयको सहयोगमा खानेपानीको योजनाको काम सम्पन्न पछि स्थानियको पानीको समस्या हटेको हो ।

तीन वर्षको प्रयास पछि गाउँमा खानेपानीको व्यवस्था गरिएको हो । अहिले स्याल खेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानियलाई वितरण गरिएको छ । दुई ओटा खानेपानी आयोजनाको लागि करिव ५४ लाख खर्च भएको निर्माण समितिले जनाएको छ ।

पानीको समस्यामा परेका गाउँका ६० घर वढी घरपरिवारले पानीको उपभोग गर्दै आएका छन् । खानेपानीको योजना सम्पन्न गरिएसंगै पानीको समस्या समाधान भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

स्याल खोला उपभोक्ता समितिका अध्यक्ष हरि वहादुर खड्काले भने ‘यहाँ पानीको निकै समस्या थियो, तर अहिले दुई ओटा खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको छ ।’ पानी आएपछि अहिले गाउँ नै हराभरा वनेको छ । प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न पाईन्छ । ‘ पानी भनेको मानिस प्राण वचाउने तत्व हो, पानी आएपछि अहिले गाउँका स्थानियको दैनिकी नै फेरिएको छ ।’ अध्यक्ष खड्काले भने ।

स्थानियले पानीको व्यवस्था गर्नको लागि श्रमदान पनि गरेका छन् । अहिले उनिहरुलाई सरसफाई, गाई वस्तुलाई खुवाउन निकै सहज भएको छ, भने तरकारी वारीमा लगाएर खेर गइरहेको पानीको सदुपयोग पनि गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्