स्टेम सेल प्रत्यारोपणबाट एड्स रोग निको


लण्डन । एड्स रोगीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरी पूर्णरुपमा स्वस्थ बनेका छन् ।

बेलायतका एकजना एड्स रोगका बिरामीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरिएको समाचारमा उल्लेख छ । ती बिरामीको नाम खुलाइएको छैन ।

उनलाई झण्डै तीन वर्ष अगाडि एचआईभी संक्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एक दाताको बोन म्यारोको स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकका अनुसार १८ महिनादेखि ती बिरामीमा एचआईभी भाइरसको कुनै लक्षण देखिएको छैन । उनले एन्टि–रेट्रोभाइरल औषधि सेवन बन्द गरिसकेका छन् ।

उनी पूर्णरुपमा निको भएका हुन् वा होइनन् भन्ने स्वतन्त्र अन्वेषण हुन बाँकी छ ।

अमेरिकाका टिमोथी ब्रोन नामक बिरामी यही प्रक्रियाबाट एड्समुक्त भएका थिए । ल्यूकेमियाबाट पनि पीडित उनलाई सन् २००७ मा बोन म्यारो प्रत्यारोपण गरिएको थियो ।

अहिलेका बिरामीमा चाहिँ सन् २०१२ देखि हजकिन्स लिम्फोमा नामक क्यान्सर देखिएको थियो । अहिले उनको क्यान्सर पनि निको हुने चरणमा छ ।

चिकित्सकका अनुसार बोनम्यारो प्रत्यारोपण प्रक्रिया खतरनाक र पीडादायी हुने गर्छ । यसलाई एड्सको नियमित उपचारमा प्रयोग गर्न सकिने सम्भावना नरहेको चिकित्सकहरू बताउँछन् ।

आगामी दिनहरूमा एड्सको पूर्ण उपचार सम्भव हुने कुरामा आफूहरू आशावादी रहेको प्रतिक्रिया माइक्रोबायोलोजिस्ट जेफ्री मिलुसले दिएका छन् ।

बेलायतको युनिभर्सिटी कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफर्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरू यो प्रक्रियामा संलग्न छन् ।