काइलीले तोडिन् जुकर्बर्गको रेकर्ड, कति छ यी सुन्दर युवतीकाे सम्पति ?


एजेन्सी । अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा परेकी २१ वर्षीय जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।

उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

यस गतिमा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनिन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ’, उनले भनिन् ।

जेनरले फोर्ब्सलाई भनिन्, ‘तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’

सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन् । उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।

अमेजनका संस्थापक जेफ बेजोस अर्बपतिहरूको शीर्ष स्थानमा छन् । तर फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ ।

फोर्ब्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ ।

फेसबुकले गोपनीयतासम्बन्धी प्रकरणहरूमा सङ्घर्ष गरिरहँदा एकचोटि जुकर्बर्गको शेअरको मूल्य एकतिहाइले घटेको थियो ।

उता अमेजनको शेअरको मूल्य बढ्दा त्यसका संस्थापक बेजोसको ब्याङ्क खाता बढाएको छ र दोस्रा धनी बिल गेट्ससँगको दूरी थोरै बढाएको छ ।

माइक्रोसफ्ट संस्थापक गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब डलरबाट बढेर ९६.५ अर्ब डलर पुगेको छ । फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन् ।

आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन् । उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको बताइन्छ ।

आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो ।