अमेरिकाकाे शक्तिशाली ‘टोर्नाडो’ आँधीमा मर्नेकाे संख्या २३ पुग्याे


काठमाडौं । शक्तिशाली तुफान (टोर्नाडो) का कारण अमेरिकामा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

सोमबार बिहान संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यमा पर्ने ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र संख्या अझै बढ्न सक्ने बीबीसीले बताएको छ ।

कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो क्षेत्रमा जान निषेध गरेका छन् । त्यहाँका राष्ट्रिय मौसम विभागले बताए अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलो बाटो बनाउँदै १ सय ६५ माइल प्रतिघण्टाको रफ्तारमा चलेको थियो ।

अधिकारीहरुले बताए अनुसार घाइतेहरुको पहिचान भइरहेको छ । ली कन्टीका स्थानीयले अहिलेसम्मकै शक्तिशाली तुफान भएको बताएका छन् । उद्धारकहरु अहिले पनि कतिपय क्षेत्रमा उद्धारको लागि खटिरहेका छन् । अल्बामा मेडिकल केन्द्रले बताए अनुसार ४० जना घाइतेहरुको उपचार भइरहेको छ र अझै सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

टोर्नाडोपछि त्यहाँ एकदमै चिसो मौसम सुरु हुने र त्यसले त्यहाँका पानीका स्रोतहरु पनि जम्ने बताइएको छ । राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए । एजेन्सी